बेनीमा गाईजात्राको रौनक (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य
म्याग्दी,भदौ १४ गते ।

बेनीमा जनै पुर्णिमाका अवसरमा गाईजात्रा पर्व मनाइएको छ । बर्खे नाच अन्तर्गत विहिवार नेवार समुदायले बेनीमा गाईजात्रा निकालेका हुन । नेवार समुदायले आज विहानै देखि दिवंगत आफन्तको सम्झनामा बेनीमा गाईजात्रा पर्व मनाएका हुन । गाईजात्रा पर्व दुईदिन सम्म मनाउने गरिन्छ । गाईजात्रामा पाका पुस्ता सँगै युवा पुस्ताको उल्लेख्य सहभागिता रहेको छ । नेवारी समुदायका साथै अन्य जातिका युवापुस्ताले पनि साथ दिएका छन् ।

वर्षभरी दिवंगत भएका आफन्तहरुको सम्झनामा बेनीका नेवार समुदायले सापारु निकाल्ने प्रचलन छ । सापारुलाई नेपालीमा गाईजात्रा भन्ने गरिन्छ । मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्राले मृत्युको शाश्वत सत्यलाई स्वीकार गरेर बाच्न प्रेरित गर्ने भनाई रहेको नेवार समुदायका अगुवा दिनेश नारायण श्रेष्ठले बताउनुभयो ।

नागानगिनीको भेषमा गीत गाउँदै नाच्ने प्रचलन छ । गाईजात्रा बेनीमा नेवार समुदायको बसोबास भएदेखि नै देखाउने प्रचलन रहेको श्रेष्ठले बताउनुभयो । मानिसलाई गाईको रुपमा सिंगारपटार गरेर बजार परिक्रममा गराउने प्रचलन छ ।

गाईजात्राका अवसरमा एकवर्षको अवधिमा दिवंगत भएका आफन्तको सम्झनामा बेनीमा नेपाल भाषा मंकाखल र ल्याम्ह पुचले नेवार समुदायका घरघरमा पुगेर तायमचा र नागानगिनी नाच प्रस्तुत गरेका छन् । मृतक आफन्तजनको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने गरिन्छ ।

पुत्रशोकले भावविह्ल भएकी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नु पर्दछ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्ना मृतक आफन्तका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गर्न लगाएर रानीको शोक कम गर्न गाईजात्राको प्रचलन सुरु गरेका हुन भन्ने भनाई छ ।