बेनी–जोमसोम सडक ः बैंसरीमा अवरुद्ध हुँदा यात्रु अलपत्र (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/बेनी
साउन २३ गते ।

बेनी–जोमसोम कोरला सडक खण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुको विचल्ली भएको छ । सडक माथिबाट खसेको पहिरोका कारण रघुगंगा गाउँपालिका २ बैसरी खण्डमा शनिबार देखि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण सडक खुलाउन सकिएको छैन । सडकमा सवारीसाधनको लामो लाइन छ ।

आइतबार र सोमबार दिनभर सडक खुलाउने प्रयास गरेपनि खुलाउन नसकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘दिनभर सडक खुलाउने प्रयास गरियो तर खुलाउन सकिएन । सडक माथिबाट पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरो नरोकिए सम्म सडक संचालन गर्न सम्भव छैन ।’’

सडक माथिको पाखोमा भूमिगत पानी र पहिरोले जमिन चिराचिरा भएर सडकमा पहिरो खसिरहेको उहाँले बताउनुभयो । वर्षा नरोकिएका कारण पहिरो खसिरहेको छ ।

सडक अवरुद्ध हुँदा मुक्तिनाथ दर्शनका लागि हिडेका यात्रु र मुक्तिनाथ र जोमसोमबाट फर्किएका यात्रुहरु बैसरीमा अलपत्र परेका छन् । बैसरी खण्डमा दुवै तर्फ करिब पाँचसय सवारीसाधन अलपत्र परेका छन् । यात्रुहरु विच सडकमै सुतेका छन् । बैसरीमा प्रयाप्त होटल नहुँदा यात्रुहरुलाई खानको समस्या भएको छ ।

आइतबार देखि यहाँ आएर बसेको छु सडक खुल्ने कुनै टुंगो छैन मुक्तिनाथबाट यात्रु लिएर आउनुभएका बसका चालक प्रकाश सुनारले भन्नुभयो, ‘‘ हिजो देखि सडकमा बसेका छौं । बसमा मुक्तिनाथ दर्शन गरेर फर्किएका भक्तजनहरु छन् । बाटोमा खाना र बास बस्ने होटल पनि छैनन् । सडक खुल्ने आशामा कुरेर बसेका छौं । आज पनि सडक खुल्ने संभावना देखिदैन । ’’

सडक अवरुद्ध हुँदा विचबाटोमा अलपत्र परेको भारतको हैदराबादबाट मुक्तिनाथ दर्शनका लागि आउनुभएका रमेश जलानले भन्नुभयो, ‘‘सडक अवरुद्ध भएको सूचना नपाउँदा बीचबाटोमा अलपत्र परेका छौं । हामीहरु मुक्तिनाथ दर्शनका लागि आएका छौं । सडक माथिदेखि पहिरो खसिरहेको छ । बीचबाटोमा अलपत्र परेका छौं । खान खाने र बस्ने होटल पनि यहाँ वरपर छैनन् । सडक खुलाउन यहाँको सरकारले पहल गरे हाम्रो उद्दार हुने थियो ।’’

सडक खुलाउन प्रहरी तथा बेनी–जोमसोम–कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन संभव नभएकाले यात्रुहरुलाई सुरक्षित स्थलमा जान सूचना गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।