साउनको चौथो सोमबार बेनीको शिवालय मन्दिरमा भक्तजनहरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी
साउन २२ गते ।

साउनको चौथो सोमबार बेनी स्थित शिवालय मन्दिरमा भक्तजनहरुले पुजाआजा र दर्शन गरेका छन् । मनोकामना पुरा हुने विश्वासले सोमबार मन्दिरमा भक्तजनहरु पुगेका छन् ।

मन्दिरमा म्याग्दीका साथै पर्वत र बागलुङबाट पनि भक्तजनहरु आएको शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।
चारसय वर्ष पुरानो एतिहासिक शिवालय मन्दिर धार्मिक पर्यटकीय स्थल हो । शिवालय मन्दिर माथि ठूलो बरको रुख रहेको छ । मन्दिर माथि बरको रुख भएकाले यसलाई धेरैले आश्चार्य मान्ने गरेका छन् ।

बाईसे चौबिसे राज्यका पालामा निर्मित मन्दिरले प्राचिन धार्मिक सभ्यता झल्काउँछ । धार्मिक सभ्यता र संस्कृति बोकेको मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि स्थानीयवासीहरुले सक्रियता देखाएका छन् ।

धार्मिक सभ्यताको संरक्षण र मन्दिर व्यवस्थापन गर्न २०५८ मा बेनी शिवालय संरक्षण समिति दर्ता गरेर व्यवस्थापनको काम गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
तत्कालीन ज्यामरुककोटे राजा मलेबम मल्लले भाई भद्रिबम मल्लको हत्या गरेपछि पापबाट मुक्ती पाउन चार सय वर्ष भन्दा पहिले मन्दिर स्थापना गरेको किम्बदन्ती छ ।
मन्दिरलाई धार्मीक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्नका लागि समितिले मन्दिर परिसरमा पूर्वाधार निर्माण,प्रचारप्रसार र प्रवद्र्धनमुलक कार्यहरु गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

मन्दिर परिसरमा १०८ शिवलिङ्ग स्थापना र यज्ञ मण्डप निर्माण गरिएको छ । यस मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौठी, जनै पूर्णीमा,ग्रहदशा पुजा,सत्यनारायणको पुजा, बालाचर्तुदर्शी, शिवरात्रीमा बिशेष पुजाआजा हुने गर्छ । साथै नियमित पुजाआजका लागि मन्दिरमा पुजारीको पनि व्यवस्था गरिएको छ ।