अर्मनको शिरमा सुन्दर पर्यटकीय गन्तव्य चाङ्गा (फोटोफिचर)

प्रताप बानियाँ / बेनी
साउन १६ गते ।

यतिबेला जताततै हरियाली छाएको छ । डाँडाकाँडाहरु पनि निकै हरियाली देखिएका छन् । खोलानाला समेत सुस्साउन थालेका छन् । ग्रीष्म ऋतुको समय गर्मी हपक्कै बढेको छ । विगतको तुलनामा यसवर्ष गर्मी अत्यधिक महसुस भैरहेको छ ।

वर्षायामको मौसम छिनछिनमा बदलिन्छ । मौसमले एकैछिनमा अनेक रुप फेरिदिन्छ । यो समयमा मौसम छिटोछिटो परिवर्तन भैरहने प्रक्रिया पनि हो । बिहान सफा देखिएको मौसम उतिखेरै बदलिन्छ, सिमसिम पानी पर्छ र छोड्छ । बादल भने डाँडावारी र पारी लुकामारी खेलिरहन्छ । जिस्काइरहन्छ । यही विशेषता नै वर्षायामको मौसमको हो ।

यस्तै–यस्तै विशेषता बोकेर पर्यटकहरुलाई पर्खिएर बसिरहेको छ म्याग्दीको भर्जिन पर्यटकीयस्थल चाङ्गा । पर्यटकीय गन्तव्यको सम्भावना बोकेको चाङ्गा मंगला गाउँपालिका–५, अर्मन म्याग्दीमा पर्दछ । वसन्तुु ऋतुसँगै पालुवा पलाएर हरियाली बढ्दै गएपछि अचेल चाङ्गा क्षेत्रलाई खुब जवानी चढेको छ । भिरालो, अग्ला डाँडापाखा र पहाड तथा खोंचमा छरिएर बसेको अर्मन गाउँको सिरानमा पर्यटकीय क्षेत्र चाङ्गा रहेको छ ।

म्याग्दी जिल्लाको भर्जिन पर्यटकीय गन्तव्यको रुपमा चिनिएको चाङ्गा क्षेत्र आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक देखिन्छ । समुन्द्री सतहदेखि २२ सय मिटरको उचाइमा अवस्थित चाङ्गा क्षेत्र समथर भू–भागमा बसेको छ । वरिपरीबाट हरियाली वनजङ्गल र डाँडाकाँडाले घेरिएको चाङ्गा क्षेत्रको भ्रमण गर्न जाने जो, कोही वा पर्यटकहरु पनि निकै मोहित हुन्छन् । चाङ्गाको समथर भू–भाग पाखोमा स्थानीयले दिनभरजसो भेडा–बाखा, गाईगोरु र भैंसी चराउँछन् । चाङ्गामा मगर समुदाय र विश्वकर्माका २२ घरधुरीको बसोबास रहेको छ ।

चाङ्गा गाउँमा मकै, सिमी, आलु, फापर, कोदो, गहुँ, जौलगायत खाद्यान्न बालीको उत्पादन हुन्छ । यहाँ घना, वन क्षेत्र पनि रहेको छ । यहाँको वन, जङ्गल क्षेत्रमा सतुवा, तिते, टिम्मुरलगायत जडिबुटी र मृग, वनकुखुरा, चितुवा, भालु, दुम्सी, बाँदर, बँदेल जस्ता जङ्गली जनावहरु पाइन्छन् । मौसम खुलेको समयमा चाङ्गाबाट धौलागिरि र अन्नपूर्ण रेन्जका सबै हिमालहरु छर्लङ्ग देखिने स्थानीय विरबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

पर्यटकीय क्षेत्रको रुपमा रहेको चाङ्गाको पर्यटन प्रवद्र्धन गर्न मंगला गाउँपालिकाले चाङ्गा गाउँसम्म सडक विस्तार गरेको छ । चाङ्गा क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्न स्थानीय उत्पादनको बजारीकरण, भेडीगोठलाई व्यवस्थित बनाउन र स्थानीयलाई होमस्टे तालिम सञ्चालनको पहल थालिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

चाङ्गा आसपासको क्षेत्रबाट धौलागिरि, निलगिरी, अन्नपूर्ण, बराहशिखर, माछापुच्छे«, मानापाथी, गूर्जालगायत मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकनसँगै मालिका गाउँपालिका र बेनी नगरपालिकाको पर्यटकीय क्षेत्रसहित विभिन्न भू–भागहरु समेत देखिन्छन् ।