साउनको पहिलो सोमबार गलेश्वरमा भक्तजनको भीड (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन १ गते ।

म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा आज(सोमबार) विहानै देखि भक्तजनको भीड लागेको छ । गलेश्वर मन्दिरको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

साउनको पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि म्याग्दीका साथै पर्वत,बागलुङ,मुस्ताङ चितवन, काठमाडौँ, पोखरा, नवलपरासी,लगायतका ठाउँबाट ठूलो संख्यामा भक्तजनहरु दर्शनका लागि आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर धाममा आज बिहानैदेखि पूजाआजाको विशेष प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार पुजा र दर्शनलाई व्यवस्थित र सहज बनाउन विहानै देखि सुरक्षाकर्मी र स्वयसेवकहरु परिचालन गरिएको छ ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वरमा पछिल्लो समय भारतीय भक्तजनहरु पनि उल्लेख्य मात्रामा आउने गरेका छन् ।

काठमाडौँ, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीको ग्रामीण क्षेत्रबाट उल्लेख्य मात्रामा भक्तजनहरु मन्दिरको दर्शन गर्न आएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।

गलेश्वरका साथै म्याग्दीका अन्य शिवालय मन्दिरहरुमा पनि आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ । बेनी शिवालय, बाबियाचौर, अर्मनको कैलाशफाँट, दरबाङलगायत ठाउँमा रहेका शिवालयमा साउनको पहिलो सोमबार आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको बताइएको छ ।