यसरी निर्माण भइरहेको छ नारच्याङमा निलगिरि जलविद्युत आयोजना(फोटो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
जेठ १४ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन निलगिरि जलविद्युत आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
निलगिरि खोला हाइड्रोपावरले चारवर्ष अघि एकैसाथ ३८ मेगावाटको निलगिरि पहिलो र ७१ मेगावाट को निलगिरि दोस्रो गरी एकसय ९ मेगावाट क्षमताको निलगिरि जलविद्युत आयोजना निर्माण थालेको थियो । निजी क्षेत्रको लगानीबाट निर्माण गरिएको यो जिल्लामै ठूलो आयोजना हो । अक्करे भीरपहरामा पहुँचमार्ग निर्माण गर्न आयोजनालाई दुईवर्ष लागेको थियो । पहाडको खोचमा आयोजनाका संरचनाहरु निर्माण भएका छन् ।
आयोजनाका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युतगृह निर्माण काम सकिएको छ । निलगिरि पहिलोको दुईहजार मिटर र दोस्रोको चारहजार दुईसय मिटर सुरुङ खन्ने काम सकिएर ढलानको काम थालिएको आयोजनाका आवशिय इन्जिनियर रत्नबमजन तामाङले जानकारी दिनुभयो । पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको आठसय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले जानकारी दिनुभयो ।

दुवै आयोजनाका लागि निर्माण गरिने विद्युतगृहको सिभिल स्टक्चरको काम सकिएर इलोक्ट्रोमेकानिकलको काम थालिएको उहाँले जानकारी दिनुभयो । भौगोलिक विकटताका वाबजुद पनि आयोजना निर्माणले तिव्रता पाएको उहाँले बताउनुभयो । आगमी ६ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो । आयोजनामा अहिले प्राविधिक जनशक्ति र मजदुर गरेर करिब पाँचसय जना परिचालन भएका छन् ।

निलगिरी पहिलोको विद्युतगृहहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । निलगिरी पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ । क्यासकेडको विद्युतगृहदेखि निलगिरी पहिलोको बाँध हुमखोलासम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ ।

यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्दछन् । कठिन भीरपहरा छिचोले आयोजनाको निर्माणस्थल सम्म पुग्न सडक निर्माण गरिएको छ । भौगोलिक विकटताका कारण आयोजना सम्पन्न गर्न निकै चुनौती थियो आयोजनाका आवशिय इन्जिनियर तामाङले भन्नुभयो ‘हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रा सामु ठूलो चुनौती थियो तर हामीले सवै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण करिब अन्तिम चरणमा पु¥याउन सफल भएका छौं ।’

करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । निलगिरीखोलाबाट उत्पादन भएको बिजुली २२० केभीए क्षमताको दाना सव स्टेशनबाट केन्द्रय ग्रिडमा जोडिने छ । छोटेपा–दोबिल्ला हँुदै दाना सव स्टेशन जोड्ने ८ दशमलव ५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माणका लागि २४ वटा मध्य २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको आयोजनाले जनाएको छ ।