ताजा समाचार:
Search

अन्नपूर्ण आधार शिविरमा सुन्दर ताल (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
जेठ ८ गते ।

अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा रहेको सुन्दर हिमताल पर्यटकीय गन्तब्यका रुपमा विकास हुनथालेको छ । यो ताल अन्नपूर्ण र निलगिरि हिमालको काखमा पर्दछ । समुन्द्री सतह देखि ४ हजार ५० मिटरको उचाईमा रहेको तालको एककिलोमिटर लम्बाई र दुईसय मिटर चौढाई रहेको छ ।

वरीपरी सुन्दर हिमश्रृङ्खलाको दृश्य र तालले यहाँ पुग्ने पर्यटकलाई आनन्द महशुस गराउँछ । मौरिस हर्गोज पदमार्गको नारच्याङ स्थित हुमखोलाबाट करिब ७ घण्टाको पैदलयात्रापछि तालमा पुग्न सकिन्छ । पाँचवटा साना साना तालहरु मिलेर बनेकाले यो ताललाई स्थानीयहरुले पञ्चकुण्ड भनेर नामाकरण गरेका छन् । यो तालको पर्यटकीय तथा धार्मिक महत्व छ ।

नारच्याङ देखि दुईघण्टा सवारीसाधनको यात्रा पश्चात मौरिस हर्गोज पदमार्गको करिब ७ घण्टाको यात्रापछि तालमा पुग्न सकिन्छ । ताल सम्म पुग्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र संघीय सरकारको पर्यटन मन्त्रालयको बजेटबाट पदमार्ग,झोलुङ्गे पुल र पर्यटक आश्रय स्थल निर्माण गरिएको छ ।

‘‘हिमालको काखमा रहेको यो ताल सुन्दर लाग्यो,यहाँ आउँदा स्वर्गको अनुभूति भयो,’’पहिलो पटक आधार शिविर पुग्नुभएका बेनीका बालकृष्ण पौडेलले भन्नुभयो, ‘‘कति राम्रो सुन्दर ताल,मलाई केही दिन यही बसौं बसौं लाग्यो ।’’

ताल मिस्त्री खोलाको उद्यगमस्थल समेत हो । तालको प्रचारप्रसार र पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटक भित्राउने पालिकाको उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

तालको प्रकृति,धार्मिक र पर्यटकीय महत्वलाई उजारगरी पर्यटन गन्तव्यका रुपमा विकास गर्न गाउँपालिकाले प्रचारप्रसार र पदमार्गलाई व्यवस्थित बनाउने योजना अघि सारेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

सन १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई उहाँकै नाममा मौरिस हर्जोग पदमार्ग नामाकरण गरिएको छ । नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको अगुवाईमा वि.स. २०६८ मा पहिचान भएको मौरिज हर्गोज पदमार्गलाई व्यवस्थित बनाउने काम गरिएको छ ।

पछिल्लो समय हिमाल आरोहण गर्ने आरोही र आधारशिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको मौरिस हर्जोग पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका गुरुङले बताउनुभयो । आधारशिविरमा खानेपानी,टेलीफोन सेवा र पर्यटकीय पूर्वाधारको आवश्यकता रहेको उहाँले बताउनुभयो ।