तरकारी खेतीले सुन्दर देखियो सल्यानको फाँट(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/जलजला
बैशाख २३ गते ।

 म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यान फाँट यतिखेर तरकारी खेतीले भरिएको छ । बाह्ै महिना सिँचाई सुविधा उपलब्ध भएको समथर फाँट काउली,बन्दागोभी,काक्रो र गोलभेडा लगायतका तरकारीले सुन्दर देखिएको छ ।

तरकारी खेतीका लागि धाइरिङ पर्वत मै नमुना गाउँ हो । तरकारी पकेट क्षेत्रका रुपमा परिचित यस गाउँका अधिकांश कृषकहरुले व्यावसायीक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट वर्षेनी करिब डेढ देखि दुईकरोड रुपियाँ भन्दा बढी गाउँमा भित्रिने अगुवा कृषक एकनारायण पौडेलले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘‘तरकारी खेती यहाँका कृषकहरुको जिवन नै बनिसकेको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुनथालेपछि विदेश गएका युवाहरु पनि गाउँ फर्किएर खेती गर्न थालेका छन् ।’’
उहाँका अनुसार यहाँका कृषकहरुले वार्षिक रुपमा कम्तीमा दुईलाख देखि १० लाख रुपियाँ सम्म तरकारी खेतीबाट आम्दानी लिने गरेका छन् ।
गाउँका एकसय घरपरिवार व्यवसायीक तरकारी खेतीमा आवद्ध छन् । ताजा तरकारी र विउविजन विक्रीबाट प्राप्त भएको आम्दानीले यहाँका कृषकहरुले सहरबजारमा घरघडेरी समेत जोडेका छन् ।

विगत २७ वर्ष देखि निरन्तर रुपमा ताजा तरकारी र विउ उत्पादन गर्दै आउनुभएका गाउँका अगुवा कृषक पौडेले भन्नुभयो, ‘‘तरकारी खेतीले विदेश पुगेका युवाहरुलाई पनि गाउँ फर्काएको छ । तरकारी खेतीले गाउँनै समृद्धि बनेको छ ।’’ उत्पादन भएको ताजा तरकारी म्याग्दीको सदरमुकाम बेनी,बागलुङ र पर्वतको सदरमुकाम कुस्मा सम्म पुग्ने उहाँले बताउनुभयो ।

परिश्रम गर्नसके तरकारी खेतीबाट राम्रो लिन सकिने कृषक बलराम आचार्यले बताउनुभयो । उत्पादन भएको तरकारी विक्रीका लागि कुनै समस्या छैन उहाँले भन्नुभयो, ‘‘गाउँमै सडक आएको छ । पहिला जस्तो डोकामा बोकेर लैजान पर्दैन । उत्पादन गर्नसके घरमै बसीबसी फोनको आधारमा तरकारी विक्री गर्न सकिन्छ । बेमौसमी तरकारी उत्पादन गर्नसके बेनीका व्यापारीहरु फाँटमै गाडी लिएर आउँछन् ।’’

तरकारी खेतीको आम्दानीले यहाँका कृषकहरुको जिवनशैलीमा सकरात्मक परिवर्तन ल्याइदिएको युवा कृषक अर्जुन पौडेलले बताउनुभयो । ‘‘आफ्नै माटोमा परिश्रम गर्दा गौरबको अनुभूति हुन्छ,’’ कृषक पौडेलले भन्नुभयो, ‘‘परिश्रम गर्नसके तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।’’ सल्यानका साथै बास्कोट,धरापानी र घायखेत तरकारी खेतीका लागि परिचित गाउँ हुन ।

स्थानीय सरकारले कृषकहरुलाई थप व्यावसायीक बनाई उत्पादन बढाउन तालिम र प्रविधिमा सहयोग गर्दैै आएको छ । समाचार आजको गोरखापत्र दैनिकमा छ ।