अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य /म्याग्दी
चैत २७ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ हिस्तानको घराम्दीमा सोमबार देखि पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र वास्केटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा(खम्बिर)ले उद्घाटन गर्नुभयो । प्रतियोगिता आगमी वैशाख १ गते सम्म सञ्चालन हुने छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै सांसद गर्बुजाले पालिका स्तरमा खेलाडी उत्पादन र खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । खेलक्षेत्रको पूर्वाधार विकासमा पालिका,प्रदेश र संघ सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।


उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद रेशम जुग्जाली,हरी भण्डारी,विमला गौचन,जिसस प्रमुख राजकुमार थापा,धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन,अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसी, नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका समितिका अध्यक्ष कृष्णप्रसाद बरुवाल,नेकपा एमालेका पालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जा,वडा नम्बर ७ का अध्यक्ष मइलन पुर्जा,पूर्व अध्यक्ष गम बहादुर फगामी,पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले खेलकुद प्रतियोगिताले खेलप्रतिभाको विकासमा टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा वडा नम्बर १ बाट ४ टिम,२ बाट २,३ बाट ३,४ बाट ३,५ बाट ४,६ बाट ३,७ बाट ४ र ८ नम्बर वडाबाट ४ टिम गरी २७ टिमले सहभागी जनाएको पालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मंलगबार विहान देखि लिग प्रणालीमा खेल सञ्चालन गरिने छ । खेलकुद प्रतियोगिताले पालिका स्तरमा खेलकुद क्षेत्रका विकासमा टेवा पुग्नुका साथै खेलाडीहरुको क्षमता विकासमा सहयोग पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।


प्रतियोगितामा प्रथम र द्धितीय हुनेलाई क्रमशः ३०\२० हजार नगद ,ट्रफी,मेडल र सम्मान पत्र प्रदान गरिने शिक्षा अधिकृत कटुवालले जानकारी दिनुभयो । आठवटा वडालाईलाई प्रोत्साहन स्वरुप पालिकाले ५०\५० हजारका दरदे रकम उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको संचालन,पालिका अध्यक्ष पुनको अध्यक्षता र उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनको स्वागतमा प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगिताको पहिलो दिन पालिकाका जनप्रतिनिधि र कर्मचारीकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जनप्रतिनिधिको समुह विजयी भएको प्रमुख प्रशासकीय अधिकत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भोली मंगलबार देखि प्रतिस्पर्धात्मक खेलहरु संचालन गरिने छ ।

प्रतियोगिताका अवसरमा म्याग्दीको विकासका लागि पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै जिल्लाका अग्रज पत्रकार घनश्याम खड्कालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । साथै पालिकाको विकास र समृद्धिमा योगदान पु¥याएको भन्दै विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पालिकाले सम्मान गरेको छ ।