सुन्दर छ अन्नपूर्णको फुतफुते झरना

ठाकुरप्रसाद आचार्य \विकल्प न्यूज
चैत २३ गते ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । नारच्याङ देखी अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग ट्रेलमा पर्ने यो झरना सुन्दर र मनोमहक छ । झरनाको दृश्यले पदयात्रालाई रोमाञ्चक बनाउँछ । थकान मेटाइदिन्छ,दुःख विर्साइदिन्छ ।

अन्नपूर्ण,अन्नपूर्ण साउथ, निलगिरी र बराहशिखर हिमालबाट हिउँ पग्लीएर बनेको मिस्त्री खोलामा पर्ने यो फुतफुते झरनाले पदमार्गलाई सुन्दरता दिएको छ । हुमखोलाबाट एकघण्टाको पैदलयात्रा पछि झरनामा पुग्न सकिन्छ ।

माथिबाट खसेको झरना र पानीको निलो तालको अवलोकन गरेर एकैछिन पर्यटक रमाउँछन् । झरनासँगै तस्विर र भिडियो खिच्न पर्यटकहरु लोभिन्छन् । झरनाको सुन्दरताले पर्यटकको थकान मेटाइदिन्छ । झरनाको अवलोकन गर्दा निकै आनन्द अनुभूती हुने पदयात्रामा जानुभएका अन्नपूर्ण गाउँपालिका ५ शिखका सुरेन गुरुङले बताउनुभयो । ‘‘यो झरना निकै सुन्दर र मनोमहक छ,’’ उहाँले भन्नुभयो, ‘‘पदयात्राको सवै दुःख झरनाको सुन्दरताले भुलाइदिन्छ ।’’

स्थानीयहरु ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई तिनवर्ष अघि ‘मौरिस हर्जोग ट्रेल ’ नामाकरण गरी पूर्वाधार निर्माणमा जुटेका छन् ।

वि.स १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमालको पहिलोपटक आरोण गर्नुभएको थियो । त्यसैले पालिकाले मौरिसको नामबाट पदमार्गको नामाकरण गरेको हो । यो पदमार्ग मिस्त्रीखोलाको किनारैकिनार भएर अन्नपूर्ण आधार शिविर पुग्छ ।

पछिल्ला पाँचवर्षयता पर्यटन मन्त्रालय र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मार्फत पदमार्गलाई व्यवस्थित बनाउन करिब साढे तिनकरोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो । उहाँका अनुसार पदमार्ग, झोलुङ्गे पुल, फड्के पुल र सिँढी निर्माण गरिएको छ । छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ वटा खोलामा झोलुंगे पुल निर्माण भएको छ भने ६ स्थानमा आश्रयस्थल निर्माण गरिएको छ ।

नीलगिरि हिमालको फेदी हुमखोला देखि आधारशिविरको धर्मशाला सम्म करिब १४ किलोमिटर लामो पदमार्गमा ढुंगाको सातहजार सिँढी चिनिएको छ भने अक्करे पहाड र भिरमा रेलिङ राखेर पदयात्रालाई सुरक्षित पारिएको छ ।

आधारशिविरमा पर्यटक वासबस्नका लागि तिनवटा पक्की घर निर्माण गरिएको छ । व्यवस्थित पदमार्गको निर्माण र आधार शिविरमा पूर्वाधार निर्माण भएपछि पदयात्री र हिमाल आरोहणको संख्या बढेको उहाँले बताउनुभयो ।

नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति,फुल,चराचुरुङ्गी पदमार्गको आकर्षण भएको गुरुङले बताउनुभयो । यो पदमार्ग एकदशक अघि पहिचान भएको थियो ।
नारच्याङको बेँसीगाउँदेखि छोटेपासम्म नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गरेको सडकबाट नीलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलासम्म पुग्नसकिन्छ । हुमखोलाबाट एक दिनमा भुसकेत र अर्को दिन आधार शिविर पुग्न सकिन्छ ।

समुद्री सतहदेखि चार हजार ५ सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य मनमोहक छ । शिविरमा नीलो रङ र गोलो आकारका पाँचवटा तालहरु छन । नारच्याङवासीले उक्त तालहरुलाई पञ्चकुण्ड भनेर नामाकरण गरेका छन् । ति तालहरुबाट हिमालको छायाँ हेर्न सकिन्छ ।

अन्नपूर्ण आधार शिविरमा अहिले ८ वटा आरोही टोली पुगेको गुरुङले बताउनुभयो । उहाँका अनुसार पायन एडभेञ्चर,सभेन समिट,इमार्जिङ,इलाइट हिमालयन एडभेञ्चर,ग्लासेयर हिमालयन,पिक परमोसन र नेपाली सेनाको हिमाल सरसफाई टोली आधार शिविरमा पुगेको उहाँले बताउनुभयो ।

हिमपात भएकाले आरोहण टोली आधारशिविरमै रहेको उहाँको भनाई छ । कतारकी राजकुमारी आश्मा अल्थानी र आरोही निर्मल पुर्जा सहितको टोलीले अन्नपूर्ण हिमालको आरोहण गर्ने तयारी गरेपछि पछिल्ला केही दिनयता अन्नपूर्णको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा भएको छ । साभारः गोरखापत्र अनलाइन