अाजदेखि नेपाल संवत् ११३६ सुरू, म्हः पूजा पनि आजै

Sankhadhar-Sakwa

२६ कात्तिक, काठमाडौं । नेपाल संवत् ११३६ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले चन्द्रशम्शेरको शासनकाल विसं १९६० सम्म राष्ट्रिय संवत्को मान्यता पाएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिए ।

‘लिच्छविकालका राजा राजवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् राणाशासनसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’ जोशीले भने ।

विसं १९६० बाट भने नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिन छोडिएको थियो । राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५५ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

नेवार समूदायमा म्हः पूजा गरिँदै

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत रहेको छ ।