खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित भव्य स्वागत (फोटो\भिडियो)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असोज २७ गते ।

 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा आयोजना हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता विहिवार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्व प्रतियोगितामा सहभागि हुन बेनी आएका खेलाडीहरुलाई बेनीमा भव्यरुपमा स्वागत गरिएको छ । खेलाडीहरुको स्वागतमा बेनीमा जातजातिको कला, संस्कृति झल्कने झाँकी प्रदर्शन गर्नुका साथै नौमती बाजा सहित बजार परिक्रमा गरिएको थियो ।

जिल्ला स्थित विभिन्न जातजाति, संघ संस्था, क्लब, जनप्रतिनिधि, आमा समूहहरुको सहभागीतामा बृहत सांस्कृतिक झाँकी सहितको ¥यालीले बजार परिक्रममा गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीको खुला मञ्चमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । कार्तिक २ गतेसम्म संचालन हुने प्रतियोगिताको लागि उद्घाटन खेलमा गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश बिच खेल हुने भएको छ ।

महिला भलिबलमा सहभागी हुने सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेका छन् । गण्डकी प्रदेशमा ३९ बर्षपछि भएको नवौं राष्ट्रिय प्रतियोगिता अन्तरगत म्याग्दीमा महिला भलिबल संगै तेक्वान्दो प्रतियोगिता समेत सञ्चालन हुँदै छ । कालिपुल स्थित कवर्ड हलमा हुने तेक्वान्डो प्रतियोगिताको लागि समेत खेलमेदानको व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले गर्नुभएको छ । राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताले बेनीमा खेलप्रेमीहरुको चहलपहल बढेको छ ।