मौसममा आएको सुधार सँगै पुनहिलमा पर्यटकको चहलपहल (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असोज २६ गते ।

म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बुधवार देखि मौसममा सुधार सँगै  पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको संख्या वृद्धि हुनथालेको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुनथालेपछि होटल व्यवसायीहरु उत्साहित बनेका छन् । दशैं तिहार विदाको सदुपयोग गर्न निस्केका आन्तरिक पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन । यो समयमा पुनहिलमा आन्तरिक पर्यटकको निकै भीडभाड लाग्ने गर्दछ । विद्यालय र कलेज तिहार सम्म विदा हुने भएकाले विद्यार्थीहरुलाई घुम्न निस्कने राम्रो समय पनि हो । निरन्तरको वर्षाका कारण रोकिएका पर्यटकहरु मौसममा सुधार आएसँगै बुधवार देखि घोडेपानी र पुनहिलको भ्रमणमा आउने अन्तरिक तथा विदेशी पर्यटकको संख्यामा वृद्धि हुनथालेको होटल व्यवसायीहरुले बताएका छन् ।

विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गले समेटिएको घोडेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीहरु उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले जानकारी दिनुभयो । चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्य अवलोकन गर्न पाइन्छ ।

समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । सरद ऋतुको सुरुवातसंगै पुनहिलको प्रवेशद्धारमा पर्ने घोडेपानीमा रहेका होटलहरु पर्यटकको आगमन बृद्धि संगै भरिभराउ हुनथालेका छन् । पुनहिल अन्तरिक तथा विदेशी पर्यटकका लागि पहिलो रोजाईमा पर्ने गरेको छ । घोडेपानी देखि पुनहिल सम्म पुग्न यहाँका स्थानीयहरुले चन्दा सहयोग जुटाएर पदमार्ग निर्माण गरेका छन् ।

असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिको अध्यक्ष मिना पुनले बताउनुभयो । पर्यटकका लागि यो उपयुक्त समय हो उहाँले भन्नुभयो ‘निरन्तरको भारी वर्षाका कारण यसपाली दशैं विधामा निस्केका पर्यटकहरु प्रभावित भएपनि दुईदिन यता मौसममा हलुका सुधार आएसँगै पर्यटकको आगमन बढ्न थालेको छ ।’ एकसाताको वर्षका कारण सडक मार्ग अवरुद्ध हुँदा कतिपय पर्यटकहरु बीचबाटोमै रोकिएको उहाँले बताउनुभयो । मौसममा सुधार र सडक मार्ग खुलेपछि पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखै अगाडि देखिने हिमशृङ्खलाको अवलोकनका लागि पर्यटकहरु पुग्ने अन्नपूर्ण गाउँपालिका ५ शिखका स्थानीयवासी सुरेन गुरुङले बताउनुभयो । चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले बताउनुभयो । पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । पर्यटकका लागि घोडेपानीमा साना ठूला गरेर २६ वटा सुविधासम्पन्न होटलहरु छन् ।

विहानको सुर्योदय र हिमशृङ्खलाको दृश्वलोकन गर्न पुनहिल पुगेका पर्यटकहरु । तस्विरहरु सुरेन गुरुङ