सडकअवरुद्ध हुँदा म्याग्दीको जनजिवन प्रभावित

ठाकुरप्रसाद आचार्य/बेनी
असोज २४ गते ।

एकसाता देखि निरन्तर परेको भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा म्याग्दीका प्रयाजसो सडकहरु अवरुद्ध बनेका छन् । सडक अवरुद्ध हुँदा जनजिवन प्रभावित बनेको छ । सर्वसाधरणहरु जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् । बेनी –जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुबीच बाटोमै अलपत्र परेका छन् । भने जिल्लाको ग्रामिण भेगलाई जोड्ने सडकहरु पनि बर्षाका कारण ठप्प हुँदा दशैं मनाउन गाउँपुगेका सर्वसाधरणहरु जोखिम मोलेर घण्टौ सम्मको पैदलयात्रा गरेर गन्तव्यमा पुग्ने गरेका छन् ।

सदरमुकाम बेनी देखि स्थानीय तह जोड्ने मुख्य सडकहरु एकहप्ता यता ठप्प बनेका छन् । सडक अवरुद्ध हुँदा दशैं मनाउन घर पुगेका सर्वसाधरणहरुलाई आवतजावतमा निकै समस्या भएको छ । वर्षा अझै नरोकिएका कारण सडक खुलाउन समस्या भएको म्याग्दीका प्रहरी नायब उपरिक्षक तिलक भारतीले बताउनुभयो । उहाँका अनुसार बेनी जोमसोम सडकको बैसरी,दानाको काभ्रे लगातका धेरै ठाउँमा सडक माथिबाट खसेको पहिरोका कारण यातायात अवरुद्ध बन्ने गरेको छ । सडक खुलाउने प्रयास भएपनि बर्षा नरोकिएकाले समस्या भएको उहाँको भनाई छ ।


यस्तै बेनी देखि पश्चिम मंगला,मालिका र धौलागिरि गाउँपालिका जोड्ने बेनी –दरबाङ–ताकम – मुना सडकको धेरै स्थानमा पहिरो खसेका कारण खुलाउन समस्या भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । बेनी नगरपालिका ४ स्थित तातोपानीको फापरखेत,मालिका गाउँपालिका ६ स्थित बाङ्गे पहिरोमा सडक अवरुद्ध हुने गरेको छ ।

यस्तै बेनी –पाखापानी सडक,बेनी–मौवाफाँट–दग्नाम–चिमखोला हुँदै कुइनेमंगले लगायत ग्रामिण भेग जोड्ने प्रयाजसो सडक पहिरोले अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनी –मालढुङ्गा सडक खण्ड अन्तर्गत पर्वतको जलजला गाउँपालिका ७ केराबारीमा सडक माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा सोमबार बेलुका देखि यातायातका साधनहरु संचालन हुनसकिरहेका छैनन् ।

सडक अवरुद्ध हुँदा ग्रामिण भेगमा उत्पादित कृषि उपज बजार ल्याउन,बजारबाट दैनिक उपभोग्य वस्तुहरु ग्रामिण भेगमा ढुवानी गर्न,विरामी तथा सुत्केरी महिलाहरुलाई अस्पताल सम्म पु¥याउन र सरकारी कामकाजका लागि सदरमुकाम पुग्न सर्वसारधणलाई सास्ती भएको छ । सडकमा पहिरो जाँदा पैदल हिड्न समेत जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ । वर्षा अझै नरोकिएकाले जरुरी काम वाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सर्वसाधरणहरुलाई अनुरोध गरेको छ ।