म्याग्दीमा नेकपा एमालेका उम्मेदवारहरुले गरे मनोनयन दर्ता

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असोज २३ गते ।

म्याग्दीमा उम्मेदवारी दर्ता सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवारहरुले पहिलो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि हरिकृष्ण श्रेष्ठ,प्रदेशसभा निर्वाचन क्षेत्र क मा देवेन्द्रबहादुर केसी र ख मा यामबहादुर गर्बुजाले मनोनयन दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरु समक्ष संक्षिप्त कुरा गर्दै नेकपा एमालेका उम्मेदवारहरुले जिल्लाको शिक्षा,स्वास्थ्य,पर्यटन,जलविद्युत,कृषि,सडक लगायत पूर्वाधारका क्षेत्रको विकासका एजेण्डा भएको बताउनुभयो । मनोनयन दर्ता अघि पार्टी कार्यालय हाडेभिरबाट व्यानर,झण्डा सहित एमालेका उम्मेदवार,नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएका थिए । यसपटक निर्वाचन आचरसहिंतामा बाजागाजा,नारजुलुस र ¥याली गर्न नपाइने निर्वाचन आचरसहिंतामा उल्लेख गरिएकाले दलहरुले सो अनुसार तयारी गरेका छन् ।

यसैबीच सत्ता गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी,राप्रपा लगायतका केही साना दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ताको तयारी गरेका छन् । साथै म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले टिकट साटासाट गरेका छन् । सत्ता गठबन्धनको केन्द्रले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै काँग्रेस र माओवादी केन्द्रले जिल्ला स्तरमा आन्तरिक सहमति गरेर टिकट साटेका हुन ।

सत्ता गठबन्धनको सिट बाँडफाँटमा यसअघि एक निर्वाचन क्षेत्र मात्र रहेको म्याग्दीको प्रतिनिधिसभा माओवादी केन्द्रको भागमा परेको थियो । भने प्रदेशसभाका दुई निर्वाचन क्षेत्र नेपाली काँग्रेसको भागमा परेको थियो ।

आइतबार विहान जिल्लास्तरमा गठबन्धनमा आवद्ध दलका नेताहरुको वैठकले आन्तरिक सहमति गरेर सिटबाडफाँटलाई मिलाउन केन्द्र समक्ष अनुरोध गरेका थिए । जिल्लाको आन्तरिक सहमतिलाई केन्द्रले सदर गरेको छ । जसअनुसार प्रतिनिधिसभा काँग्रेसको भागमा र प्रदेशका दुई क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ ।

काँग्रेसले वर्तमान पार्टी सभापति खमबहादुर गर्बुजालाई प्रतिनिधिसभा सदस्य पदका लागि गठबन्धनका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । भने माओवादीले पाएको प्रदेशसभा निर्वाचन क्षेत्र क मा हरि भण्डारी र ख क्षेत्रमा रेशम जुग्जाली (सुविन)लाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनका तर्फबाट सयुंक्त रुपमा ४ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको नेकपा माओवादीका जिल्ला नेता शेरबहादुर केसीले बताउनुभयो ।