रत्नेचौरमा धार्मिक महोत्सव सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी
फागुन २३ गते ।

  
बेनी नगरपालिका १ रत्नेचौरमा धार्मिक महोत्सव सुरु भएको छ । महोत्सवको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटकीय स्थलको केन्द्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।

‘हाम्रो प्रदेश भनेको गण्डकी सभ्यताको प्रदेश हो।कालिगण्डकी हाम्रो आस्था,संस्कृति र धरोहर हो भन्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो ‘कालिगण्डकी नदीलाई र हाम्रो प्रदेशसँग कसरी जोडन् सकिन्छ भनेर सरकारी स्तरबाट कार्यदल गठन गरी अध्ययन सुरु गरेका छौं ।’

कालिण्डकीको संरक्षण गर्दै हामीले धार्मिक पर्यटन प्रवद्र्धन गर्नुपर्दछ मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘धार्मिक पर्यटन हाम्रो प्रदेशको समृद्धि हो त्यसैले यस क्षेत्रलाई धार्मिक सर्किटका रुपमा विकास गर्नपर्दछ मुक्तिनाथ, जनकपुर लुम्बिनी, विन्धावासीनी,मुक्तिनाथ साथै प्रदेशका सानासाना धार्मिक स्थलहरुलाई जोडेर धार्मिक स्थलका रुपमा विकास गर्ने प्रदेश सरकारको मुख्य उद्देश्य हो ।’

महोत्सवमा जीयर स्वामीजी महाराजले धार्मिक प्रवचन दिनुभएको थियो । उदघाटन कार्यक्रममा जिल्ला स्थित राजनीतिकदलका प्रतिनिधि,जनप्रतिनिधि लगायतले विचार व्यक्त गर्नूभएको थियो ।

महोत्सव मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रचारप्रसार संयोजक विक्रम बोगटीले गर्नुभएको थियो ।

रत्नेचौरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न फागुन एकहप्ता सम्म महोत्सव गर्न लागिएको हो । रत्नेचौर स्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म ‘रत्नेचौर धार्मिक महोत्सव’ आयोजना गरिएको हो ।