सांसदहरुद्वारा चियापान तथा शुभकामना आदानप्रदान

विकल्प /म्याग्दी
कात्तिक २४ गते । व्यवस्थापिका संसदमा म्याग्दीबाट प्रतिनिधित्व गर्ने म्याग्दीका सांसदहरु नवराज शर्मा र नरदेवी पुनले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावली, नेपाल संवत्, छठपर्व तथा नयाँ संविधान जारी भएको अवसर पारेर उनीहरुले मङ्गलबार बेनीमा कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा बोल्दै सांसद नवराज शर्माले अहिलेको नाकाबन्दीलाई अन्तिम नाकाबन्दीका रुपमा लिई आत्मनिर्भरताको बाटोमा हिँड्नुपर्ने बताए । आमनेपाली जनताको सहयोगबाट मुलुकले नयाँ संविधान प्राप्त गर्न सकेको बताउँदै शर्माले भने, ‘अहिलेको नाकाबन्दीलाई अन्तिम नाकाबन्दीको रुपमा लिँदै आत्मनिर्भर बन्ने बाटोमा लागौं ।’
नाकाबन्दीलाई यो सरकारले विरासतका रुपमा प्राप्त गरेको भन्दै निवर्तमान सभासद शर्माले आफ्नो सरकार छँदा सल्टाउन नसकेको मधेश–समस्यालाई ओली सरकारले केही गरेन भन्न नमिल्ने बताएका थिए । भारतको दबावका बाबजूद नेपालीहरुको आफ्नै बलबुतामा संविधान जारी भएको भन्दै उनले यसकै झोंकमा भारतले नेपालमाथि नाकाबन्दी लगाएको उनको भनाई थियो ।
अर्का सांसद नरदेवी पुनले नयाँ संविधान समावेशी र सहभागितामूलक रहेको भन्दै सडकबाट भन्दा वार्ताबाट समस्याको समाधान खोज्न तराईकेन्द्रित दललाई आग्रह गरेकी थिइन् । ‘मुलुकले अभिभावकको महिला, जनजाति, मधेशी अनुहार पाएकोमा सबैले गर्व गर्नुपर्छ,’ उनले भनिन्, ‘सानातिना विषयलाई निहुँ बनाएर आन्दोलन मच्चाएर केही हुनेवाला छैन ।’ दशैं, तिहारजस्ता ठूला पर्वका बेला पनि जनताले नाकाबन्दीको पीडा भोग्न बाध्य भएको भन्दै उनले भनिन्, ‘यो सरकारले केही गरेन भन्दापनि हामी कुन हदसम्म परनिर्भर भएका रहेछौं भनेर बुझ्नुपर्ने भएको छ ।’
सोही कार्यक्रममा बोल्दै सांसद रेशमबहादुर बानियाँले अहिलेको अवस्थामा सबै दलहरु मिलेर नयाँ संविधान कार्यान्वयन गर्नुपर्ने बताएका थिए । ‘सत्तापक्ष र विपक्षका रुपमा एकअर्कालाई गालीगलौज गर्ने बेला यो होइन,’ नेपाली कांग्रेस म्याग्दीका सभापतिसमेत रहेका बानियाँले भने, ‘तराईको समस्यालाई जतिसक्दो मिलाएर संविधानको कार्यान्वयन गर्न सबै मिलेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।’
यसअघि कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले नयाँ संविधान प्राप्त गरेको खुशियाली मनाउन नपाई नाकाबन्दीको मार सहनुपरेको घटनाबाट सबै नेपालीले गम्भीर शिक्षा पाएको बताएका थिए । चीन र भारतबाहेक तेस्रो मुलुकलाई छिमेकी बनाउने अवसर नपाएको नेपालले भारतसित मात्रै भरपर्दा अहिलेको अवस्था आएको उनको भनाई थियो । ‘अब भारतसँग मात्रै भर पर्नुभन्दा चीनसित जोडिएका सीमाना व्यवस्थित गर्नुको विकल्प छैन ।’
नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य तथा बुद्धिजीवी इन्चार्ज किरण सापकोटाले सञ्चालन गरेको कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधहरु, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पार्टीको विभिन्न जनवर्गीय सङ्गनका प्रमुख तथा प्रतिनिधि, रेडक्रसलगायतका सामाजिक संघसंस्था र पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।