उपभोक्ताको तिव्र गुनासो आएपछि प्रशासनद्वारा बजारको अनुगमन

DSC03723
विकल्प / म्याग्दी, कार्तिक २४
म्याग्दीका उपभोक्ताहरुले बजारमा कालोबाजारी वढेको भन्दै तिव्र गुनासो गर्न थालेपछि जिल्ला प्रशासनले सदरमुकाम बेनीबजारमा सञ्चालनमा रहेका विभिन्न पसलहरुको मङ्गलबार अनुगमन गरेको छ ।DSC03717

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा प्रहरी कार्यालय, कृषि विकास, नागरिक समाज, उद्योग वाणिज्य संघ र पत्रकारको टोलीमार्फत संयुक्त रुपमा खाद्यान्न पसलको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले बेनीबजारका विभिन्न १७ ओटा खाद्यान्न पसलहरुको अनुगमन गरेको जनाएको छ । बेनीको आवारोडबाट शुरु गरिएको अनुगमनको कार्यक्रम बालमन्दिरचोक, बैंकरोड, सङ्गमचोक, गणेशटोल हुँदै क्याम्पसचोक र न्युरोडसम्मका पसलहरुमा पुगेर अनुगमन गरिएको थियो ।
उक्त टोलीले लम्साल किराना पसल, लिला एण्ड स्टोर्स डिपार्टमेन्टल, गौतम किराना पसल, दिप्सन किराना स्टोर्स, पङ्गाली किराना स्टोर्स, साहना किराना पसल, अन्टी किराना पसल, पिएल स्टोर्स, महादेव स्टोर्स, खनाल ब्रदर्श, युएस स्टोर्स, शुभसन्देश स्टोर्स र गोरखकाली खाद्य स्टोर्सलगायतका पसलहरुको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
अनुगमन गरिएका अधिकांश पसलहरुमा तिहार पर्वका लागि चाहिने आवश्यक तेल, सेलरोटी बनाउन प्रयोग गरिने कच्चापदार्थ, दैनिक उपभोग्य बस्तु र चामल नभएको पाइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । केही पसलमा थोरै मात्रामा चामलका पिस र तेलका प्याक मात्रै रहेपनि अधिकांश पसलमा चामललगायत अन्य खाद्यान्न नभएको पाइएको उनले बताएका छन् ।
यसैगरी अनुगमनका क्रममा पसलहरुमा मुल्यसुची नटाँसेको, साइनबोर्ड नराखिएको, म्याद गुज्रिएका सामानहरु भेटिएको, पसल दर्ता नगरिएको, पसलैपिच्छे खाद्यान्न सामाग्रीहरुको मुल्य फरकफरक पाइएकोलगायतका कमीकमजोरीहरु भेटिएको प्रजिअ पाठकको भनाई छ ।
त्यस्तै सदरमुकाममा सञ्चालित प्रकाश उच्च माविको बहुउद्देश्यीय भवनको सटरमा सञ्चालित एक पसलमा मदिराजन्य पदार्थ बिक्री वितरण गरेको पाइएको छ । प्रहरीले पटकपटक मदिरा बिक्री नगर्न भन्दै निर्देशन दिएपनि निर्देशनको अटेर गरी बिक्री गरेको पाइएकोले उक्त पसललाई कानुन अनुसार कडा कार्वाही गरिने प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले जानकारी दिए ।
त्यसैगरी अनुगमन टोलीले निरीक्षण गरिएका पसलहरुमा भेटिएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्न पसलहरुलाई निर्देशन दिएको छ । म्याद नाघेका सामान र अखाद्य बस्तुलाई तुरुन्तै हटाउन पनि निर्देशन दिइएको बताइएको छ । आगामी २ हप्तापछि पुनः पसलको अनुगमन गरिने जनाइएको छ । यता उपभोक्ताहरुले भने औपचारिकता निभाउन मात्र गरिएको अनुगमनले उपभोक्ताहरुलाई कुनै राहत नहुने बताएका छन् ।