युवा संघको अधिवेशन मंसिर अन्तिम साता

प्रताप बानियाँ \विकल्प
म्याग्दी, कार्तिक २२ । युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दशौं जिल्ला अधिवेशन आगामी मंसिरको अन्तिम साता हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटी अन्तर्गतको मोर्चा सङ्गठन विभागले शनिबार बेनीमा आयोजना गरेको भेलाद्वारा संघको दशौं अधिवेशन आउँदो मंसिर २६ र २७ गते बेनीमा गर्ने निर्णय गरिएको हो । 12189534_415608268631745_140947491460499214_n
उक्त भेलाले अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेको युवा संघ म्याग्दीले जनाएको छ । भेलाबाट अधिवेशन आयोजक कमिटी संयोजकमा दिनेश केसी र उपसंयोजकमा लेखनाथ शर्मा रहेका छन् । यसैगरी आर्थिक सङ्कलनमा संयोजक केसी, प्रचारप्रसार विभागमा सागर सुवेदी, सचिवालय व्यवस्थापनमा चन्द्रमान छन्त्याल, प्रतिनिधि व्यवस्थापन कृष्ण शर्मा र आवास व्यवस्थापनको जिम्मेवारी बाबुराम चोखाललाई दिइएको छ ।
अन्य जिम्मेवारीहरु संघको आगामी वैठकमा बाँडफाँड गरिने प्रचारप्रसार संयोजक सागर सुवेदीले जानकारी दिएका छन् । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पार्टीका सबै जनवर्गीय संघ तथा सङ्गठनहरुको अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले नेपालीहरुको मुख्य चाडपर्वमा भारतले गरेको नाकाबन्दीले खल्लो महशुस गर्नुपरेको भन्दै यसको चौतर्फी विरोध गर्नुपर्ने बताए ।
सोही भेलालाई सम्बोधन गर्दै एमाले सचिव बालकृष्ण सुवेदीले मुलुकको जिम्मेवारी एमालेको काँधमा रहेको बताउँदै भारतले अन्तर्राष्ट्रिय अधिकारले दिएको पारवहन सुविधाको उल्लङघन गरेको आरोप लगाएका छन् । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य डिपी शर्मा, बुद्धिजीवी परिषदका निवर्तमान अध्यक्ष गोरखबहादुर जिसी र सदस्य नारायण पौडेललगायतको सहभागीता रहेको थियो ।
मोर्चा सङ्गठन विभाग प्रमुख राजकुमार थापाको अध्यक्षता र सचिव दिपक कार्की बिखर्चीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सदस्य कृष्णकुमार विश्वकर्माले स्वागत गरेका थिए ।