आयआर्जनमा लगानी गर्न महिला समूहलाई रकम वितरण

DSC09454
प्रताप बानियाँ \विकल्प
म्याग्दी, कार्तिक २२ । जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीले आयमूलक कार्यक्रमका लागि रकम वितरण गरेको छ । कार्यालयद्वारा जिल्लाको विभिन्न ३ ओटा गाविसमा क्रियाशिल रहेका पावर महिला समूहहरुलाई आयआर्जनमा लगानी गर्ने उद्देश्यले रकम वितरण गरिएको हो ।
कार्यालयले आर्थिक वर्ष २०७२÷७३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक विकास तथा वन जलाधार संरक्षण आयोजनातर्फको रकम बाँडफाँड गरिएको जनाएको छ । म्याग्दीको बराङ्जा, भगवती र भकिम्ली गाविसका पावर महिला समूहलाई विभिन्न आयमूलक क्रियाकलाप गर्न बिउपुँजीको रुपमा कुल ५ लाख ४० हजार रुपैयाँ वितरण गरिएको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।
तीनवटै गाविसका हरेक वडामा रहेका पावर महिला समूहलाई प्रति समूह २० हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको उनले बताएका छन् । बिउपुँजीस्वरुप उपलब्ध गराइएको रकमबाट विभिन्न तरकारी, बाख्रापालन, कुखुरापालनलगायतका आयमूलक क्षेत्रमा लगानी गरिने बताइएको छ ।
उक्त लगानीबाट समाजका गरिब तथा विपन्न महिलाहरुको आयआर्जनमा वृद्धि आउने अपेक्षा गरिएको अधिकृत पौडेलको भनाई छ । बराङ्जा र भगवती गाविसका पावर महिला समूहलाई सम्बन्धित ठाउँमा गएर रकम वितरण गरिएको थियो भने भकिम्ली गाविसका समूहको भने बैंक खातामा रकम जम्मा गरिदिएको जनाइएको छ ।