‘चीनबाट १५ दिनमा ५० लाख सिलिण्डर ग्यास ल्याउन सक्छौँ’– व्यवसायी

भारतीय नाकाबन्दीका कारण इन्धन र ग्यासको चरम अभाव भइरहेका बेला एनेकपा माओवादी निकट व्यापारीको केन्द्रीय सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले सरकारले सहयोग गरे चीनबाट ग्यास र इन्धन भित्र्याउन सकिने जनाएको छ।
 1349937408_1445337407
सङ्गठनको सौराहामा सम्पन्न केन्द्रीय भेलाको निर्णय यहाँ सार्वजनिक गर्दै सरकारले सहयोग गरे १५ दिनमा ५० लाख सिलिण्डर चीनबाट ल्याउन सकिने उनीहरुले दाबी गरेका हुन्।
सङ्गठनका अध्यक्ष कृष्ण आचार्यले सरकारले निजी क्षेत्रलाई चीनबाट ग्यास ल्याउने वातावरण तयार पारे व्यवसायी ग्यास ल्याउन तयार रहेको बताए।
“सडक पूर्वाधार, सुरक्षा र दुई देशबीचको व्यापार सम्झौता भएमा ग्यास आपूर्ति सहज हुनेछ । सरकार अझै पनि चीनबाट ग्यास ल्याउने विषयमा तदारुकताका साथ लागेको छैन” उनले भने।
उनले त्यहाँका व्यवसायीसँग समन्वय भइरहेको र उनीहरु सकारात्मक रहेकाले अहिलेको अभावलाई थेग्न सरकारी सहयोग आवश्यक रहेको बताए। “मूल्य केही महङ्गो पर्न सक्छ सहजीकरण हुन्छ” आचार्यको भनाइ थियो। gass
बजारमा औषधिको समेत अभाव रहेको प्रसङ्गमा आचार्यले नेपालमा चार सय प्रकारका औषधि मात्रै चाहिने बताउँदै तर बजारमा चार हजार प्रकारका औषधि रहेकोले समस्या भएको बताए।
पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष खेम भण्डारीले नेपाललाई आगामी छ महिनाका लागि खाद्यान्नको कुनै समस्या नरहेको जानकारी दिए। केही व्यापारीले कालोबजारी गरेको र सामान लुकाएको बताउँदै भण्डारीले त्यसमा सबै व्यापारीलाई नमुछ्न पनि अनुरोध गरे।
उनले नेपालमा भर्खरै उत्पादन हुँदै गरेको धान भारतीयले किनेर लगेर यहाँ अभाव सिर्जना गर्न सक्ने भन्दै सचेत रहन सबैसँग आग्रह गरे। रासस