बिहारमा नीतिश-लालु गठवन्धनलाई दुई तिहाइ बहुमत !

२२ कात्तिक, काठमाडौं । विहार विधानसभा चुनावमा नीतिशकुमार र लालु यादवको गठवन्धनले दुई तिहाइ बहुमत ल्याउने संकेत देखिएको छ ।

जारी मत परिणाममा नीतिश-लालुको गठवन्धनले १६८ सिटमा अग्रता लिएको छ । यो अग्रता अन्तिमसम्म कायम रहे महागठवन्धनले दुई तिहाइ ल्याउनेछ । २४३ सदस्यीय विधानसभामा १६२ सिट ल्याए दुई तिहाइ पुग्छ ।

Nitish-Lalu

केन्द्रीय सत्तारुढ भारतीय जनता पार्टीसहितको गठवन्धनले भने ६५ सिटमा मात्रै अग्रता लिएको छ । र, उसले हार स्वीकार गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बीपेजीका अध्यक्ष अमित शाहले नीतिशकुमारलाई बधाइ दिएका छन् । शाहले बिहारका जनताको जनादेशलाई सम्मान गर्ने भन्दै भनेका छन्-‘नयाँ सरकारलाई मेरो शुभकामना छ कि बिहारलाई विकासको पथमा अगाडि लैजाओस् ।’

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहारको हारले दिल्लीमाथि भइरहेको केन्द्र सरकारको हस्तक्षेप रोकिने अपेक्षा व्यक्त गरेका छन् । उनले भने- ‘अन्य राज्यमा पनि केन्द्र सरकारको हस्तक्षेप बन्द होस् । हामी अपेक्षा गर्छौं कि सवा लाख करोडको विकास प्याकेज प्रधानमन्त्रीले बिहारमा घोषणा गर्नुभएको थियो, त्यो छिट्टै बिहारलाई दिइनेछ ।’