वैसरी पहिरो पीडितलाई रकम हस्तान्तरण

DSC03640
प्रताप बानियाँ \
कात्तिक २२ गते । म्याग्दीको भगवती २ बैंसरी र राम्चे ९ काफलडाँडाका पहिरोपीडितहरुका लागि आर्थिक सहयोग सङ्कलन भएको छ । म्याग्दी सेवा समिति दक्षिण कोरियाको सक्रियतामा रोजगारको सिलसिलमा कोरियामा पुगेका नेपालीहरुमार्फत आर्थिक सङ्कलन गरिएको हो ।
सदरमुकाम बेनीमा एक कार्यक्रमको आयोजना गरी कोरियामा सङ्कलित नगद २ लाख ३५ हजार रुपैयाँ ओमकुमारी शान्ति कोषलाई हस्तान्तरण गरिएको छ । म्याग्दी सेवा समिति दक्षिण कोरियाका खेलकुद सदस्य दिनेश कार्कीले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका छन् ।
सहयोग रकम बुझ्दै कोषका अध्यक्ष शाक्यले प्रवासी म्याग्देलीमार्फत सङ्कलन गरिएको रकम पहिरोपीडितलाई उपलब्ध गराइने बताए । उनले प्रवासीहरुको सहयोगलाई परोपकारी संस्था शान्ति कोषमार्फत संयोजन गरी सम्बन्धित पक्षलाई सहयोग गर्दै आइरहेको बताउँदै जिल्लाको सामाजिक क्षेत्रमा आफूहरुले रचनात्मक भूमिका खेलेको बताए ।
कार्यक्रममा म्याग्दी सेवा समाज दोहा कतारका अध्यक्ष गणेश श्रेष्ठ, महासचिव तिलु शर्मा र वरिष्ठ सदस्य डम्बर हमाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शान्ति कोषका उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव लोकेश पुनमगरको सञ्चालनमा सम्पन्न भएको थियो । गएको जेठ १० गते काफलडाँडाको पहाड खसेर पहिरो जाँदा बैंसरीका २७ घरधुरी विस्थापित भएका थिए । तीमध्ये हाल पिप्लेको राहुपारेस्थित १६ घरपरिवार बस्दै आएका छन् ।