विकल्प न्युज/ लण्डन
बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ।
उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो। केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए।
पर्वत चारभञ्याङमा जन्मनुभएका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए।
पछि बीचैमा जागिर छाडेर नेपाल फर्कनुभएको थियो। उनले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गर्नुभएको थियो। स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए।
बेलायतमा असल समाजसेवीका रूपमा चिनिनुभएका गुरुङले थुप्रै सामाजिक काम गरेका थिए।
उनकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन्। गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आएका थिए। हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ। थाहाखबर