निजी लगानीमा टिकोटमा सामुदायिक स्वास्थ्य केन्द्र

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी, पुस ८ गते ।
जिल्लाको हिस्तान ५ टिकोट गाउँमा यहाँ एक समाजसेवीले निजी लगानीमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्नुभएको छ । सामुदायिक स्वास्थ्य केन्द्रबाट टिकोटवासीले सुलभ तरिकाले स्वास्थ्य सुविधा लिएका छन् ।
टिकोटका स्थानीयवासी एवम् वेलायतका पूर्व गोर्खा सैनिक मेजर चन्द्रवहादुर पुन र उहाँको परिवारले स्वास्थ्य सुविधाबाट बञ्चित टिकोट गाउँका स्थानीयहरुलाई गाउँमै सरल तरिकाले निशुल्क स्वस्थ्य सुविधा उपलब्ध गराउन पाँच वर्ष अघि सामुदायिक स्वस्थ्य केन्द्र स्थापना गरिदिनुभएको हो ।

DSC07622
मजर पुनको आर्थिक र समाजसेवी महाविर पुनको प्राविधिक सहयोगमा सामुदायिक स्वास्थ्य केन्द्रमा टेलीमेडियसन प्रविधि जडान गरी विरामीहरुको उपचारको व्यवस्था मिलाइएको हो ।

साथै पुन परिवारले उपचार केन्द्र दिगो रुपमा सञ्चालन गर्नका लागि २१ लाख रुपियाँको अक्षय कोषको स्थापना गर्नुभएको स्थानीय टिकोट माविका प्रअ प्रदिप पुनले बताउनुभयो । समाज सेवी महाविर पुनको सहयोगमा केन्द्रमा इन्टरनेट जडान गरी टेलिमेडियसिनको सहयताले काठमाण्डौका चिकित्सक सँग प्रत्यक्ष कुराकानीबाट विरामीको उपचार गरिने प्रअ पुनले बताउनुभयो ।

DSC07625
केन्द्रबाट स्वास्थ्य परीक्षण, औषधि र परामर्श सेवा दिइदैँ आएको छ । केन्द्रमा एक सिएमए र एकजना ग्रामीण स्वास्थ्य कार्यकर्ता कार्यरत छन् । हिस्तानको टिकोट र घराम्दी गाउँका बासिन्दा उक्त स्वास्थ्य केन्द्रबाट लाभान्वित भएका छन् । टेलिमेडियसिनबाट केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले मोडेल अस्पताल काठमाडौँ र ओम हस्पिटल पोखराका डाक्टरसँग भिडियो कन्फरेन्समार्फत बिरामीको उपचार गर्दै आएका छन् ।
भिडियो कन्फरेन्समार्फत काठमाण्डौ मेडिकल कलेजका चिकित्सक सँग रोगका वारेमा परामर्श लिइने र चिकित्सको सल्लाहमा विरामीको उपचार गरिने व्यवस्था मिलाइएको केन्द्रकी स्वास्थ्यकर्मी रेउकुमारी पुनले बताउनुभयो । स्वास्थ्यकर्मी पुनका अनुसार केन्द्रमा चालिस देखि पचाँस जनाले मासिकरुपमा स्वास्थ्य सुविधा लिने गरेका छन् ।

हिस्तानको औलमा रहेको गाविसको स्वास्थ्य चौकी पुग्न तिन घण्टा लाग्ने बाध्यतालाई केन्द्रमा प्राप्त स्वास्थ्य सुविधाले सहयोग पुगेको स्थानीय दिलमाया अर्मजाले बताउनुभयो ।
अक्षयकोष रकमको ब्याजबाट क्लिनिकको व्यवस्थापन, कर्मचारीको तलब र औषधि खरिद गर्न खर्च गरिएको छ । घराम्दी र टिकोट गाउँका बासिन्दालाई औल गाउँमा रहेको उपस्वास्थ्य चौकीमा पुग्न करिब तिन घण्टा हिँडेर सेवा लिन जान समस्या भएपछि सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको टिकोट माविका प्रअ पुनले बताउनुभयो ।