टोड्केमा दोस्रो गुराँस महोत्सव हुने

सन्तोष गौतम/विकल्प

म्याग्दी,पुस ६ गते ।
म्याग्दीको कुहुँ, झिँ र पात्लेखेत गाविसको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केमा आगामी फागुन अन्तिम हप्ता दोस्रो गुराँस महोत्सव आयोजना हुने भएको छ ।
टोड्के क्षेत्र विकास कोषको आयोजनामा फागुनको २५ देखि २९ गतेसम्म दोस्रो गुराँस महोत्सव आयोजना हुन लागेको सोमबार बेनीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

धार्मीक तथा पर्यटकीय स्थल टोड्के क्षेत्रको प्रचारप्रसार, भौतिक संरचना निर्माण र स्थानीय उत्पादन प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको महोत्सव मुल आयोजक समितिका संयोजक मोहनबहादुर खत्रीले जानकारी दिनुभयो ।DSC05961

उहाँका अनुसार महोत्सवले ग्रामिण पर्यटन प्रर्वद्धनको लागि घरवास ब्यवस्थापन तथा आन्तरीक एवं बाह्य पर्यटन प्रर्वद्धन गर्ने पनि लक्ष्य राखेको छ । समुन्द्रि सतहदेखि दुई हजार पाँच सय मिटरको उचाईमा गुरासे जंगलको बिचमा अवस्थित टोड्के गुराँस, पहाडी सौन्दर्यता, सुर्योदय र हिमशृङ्खलाको दृष्य अवलोकनका लागि प्रसिद्ध छ ।

टोड्केलाई स्वर्गद्धारी आश्रमको शाखाको रुपमा पनि लिइन्छ । टोड्केमा यसअघि वि.स २०६५ चैतमा प्रथम गुराँस महोत्सव भएको थियो । महोत्सव सफल पार्नका लागि खत्रीको संयोजकत्वमा ६७ सदस्यीय मुल आयोजक समिति गठन गरेर तयारी सुरु गरिएको छ । उक्त समिति अन्तरगत १९ वटा उपसमिति गठन भएको छ ।

महोत्सवमा टोड््केको प्रचारप्रसार र प्रर्वद्धनमा सहयोग पुग्ने गतिबिधिका साथै पुरुष महिला भलिबल, दोहोरी गित प्रतियोगिता, लठो तान्ने, छेलो फाल्ने लगायतका खेलहरु पनि आयोजना गरिने भएको छ । यसैगरी शिव पुराण पनि लगाइने भएको छ । महोत्सवमा २८ लाख ५० हजार रुपैयाँ आम्दानी र १७ लाख ४५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महोत्सवबाट भएको आम्दानी टोड्केको पर्यटन प्रर्वद्धनका लागि पुर्वाधार निर्माणमा परिचालन गर्ने लक्ष्य राखिएको छ । टोड्केलाई पर्यटन मन्त्रालयले गत असोज १० गते नयाँ पर्यटकीय गन्तब्य स्थल घोषणा गरेको थियो ।