मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ भदौ ।
म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी असोज २२, २३ र २४ गते मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी सुरु भएको छ ।

विश्वका विभिन्न देशमा छरिएर रहेका म्याग्देलीहरु आवद्ध मोनाको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न गराउनका लागि विभिन्न उपसमिति गठन गरेर तयारी सुरु गरिएको हो । मोना आईसीका अध्यक्ष योगेन्द्र क्षेत्रीको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ । 21752242_1469857599729797_3226417122771838363_nआर्थिक संकलन उपसमितिको संयोजकमा कोषाध्यक्ष चक्रबहादुर थापा र सहकोषाध्यक्ष ओमनारायण जुग्जाली चयन हुनुभएको छ । हरि राम्जाली, तिलक मल्ल, बिनोद कुँवर, टिका गुरुङ, घनश्याम शाही र महेन्द्र बानियाँको नेतृत्वमा विभिन्न उपसमितिहरु गठन भएको छ ।

उपसमितिहरु मार्फत स्थानीय स्तरमा समन्वय, प्रचारप्रसार, आर्थिक संकलन र व्यवस्थापनका लागि सरोकारवालाहरुसंग छलफल गरेर तयारी सुरु गरिएको मोनाका महासचिव घनश्याम शाहीले बताउनुभयो ।

बेनीमा सरोकारवालाहरुसंग अधिवेशनको तयारीको विषयमा छलफल गरेको मोनाले दरवाङ बजारमा गाउँपालिकासंग समन्वय गरेर अघि बढ्ने जनाएको छ । आगामी दुई वर्षका लागि मोनाको नयाँ नेतृत्व चयन गर्नुका साथै जिल्लाको आर्थिक सामाजिक र भौतिक विकासमा प्रवासीहरुको भुमिकाको विषयमा जनप्रतिनिधि र सरोकारवालासंग छलफल गरिने मोनाका अध्यक्ष योगेन्द्र क्षेत्रीले बताउनुभयो ।

अधिवेशनको अवसरमा जिल्ला स्तरीय पन्चेबाजा, पुख्यौली नृत्य प्रतियोगिता, विभिन्न जातजातीको झाँकी प्रर्दशनी, सुनीमाया भाकाको प्रस्तुती गरिने भएको छ । परम्परागत कला र संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता तथा प्रर्दशनीको आयोजना गरिएको मोनाले जनाएको छ । मोनाले म्याग्दीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सञ्चार, विपन्नको उपचार, विपद् व्यवस्थापनमा सहयोगी भुमिका निभाउदै आएको छ ।

मोनाले म्याग्दीका सबै सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने अभियान सञ्चालन गरेको छ । यसैगरी तत्कालीन जिल्ला विकास समितिसंग म्याग्दीका सबै गाउँमा ईन्टरनेट सेवा पु¥याउन आर्थिक स्रोत जुटाएपनि जिससले चासो नदिदा योजना कार्यान्वयन हुन सकेको छैन् ।