बालमन्दिरको भवन पुननिर्माण गर्न पोर्चुगलबाट साढे दुई लाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २३ जेठ ।
गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि पोर्चुगलमा रहेको म्याग्देलीहरुले करिब साढे दुई लाख रुपैया सहयोग गरेका छन् ।IMG_7696प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगल र त्यहाँ रहेका पुर्व विद्यार्थीहरुको सक्रियतामा दुई लाख ४२ हजार रुपैया सहयोग प्राप्त भएको हो । मोना पोर्चुगलको पहलमा संकलीत ८० हजार ३८० रुपैया मंगलबार बेनीमा मोनाका संरक्षक सुवास कुमार श्रेष्ठ मार्फत विद्यालय व्यवस्थापन समितिका सदस्य सुमन बानिया र शिक्षक रामप्रसाद शर्मालाई हस्तान्तरण गरिएको छ ।

मोना पोर्चुगलका अध्यक्ष कुमार राम्जाली, उपाध्यक्ष राजन थापा, कोषाध्यक्ष मिनकुमारी सिउथानी (नानी)को सक्रियतामा त्यहाँ रहेका नेपाली र विदेशीहरुबाट सो रकम संकलन गरिएको थियो । यसअघि पोर्चुगलमा रहेका विद्यालयका पुर्व विद्यार्थी लिलाधर पौडेल र राखुका वकील केसीको पहलमा एक लाख ६२ हजार रुपैया सहयोग प्राप्त भएको थियो ।

सो विद्यालयको भवन पुननिर्माणका लागि हालसम्म स्थानीय बासिन्दा, प्रवासी संस्था, व्यक्ति र पुर्व विद्यार्थीहरुबाट १८ लाख ३९ हजार १८६ रुपैया जुटेको शिक्षक शर्माले जानकारी दिनुभयो । दक्षिण कोरीयाबाट छ लाख ६९ हजार २००, अस्टेलीयाबाट दुई लाख पचास हजार रुपैया प्राप्त भएको छ ।

भवन पुननिर्माणका लागि विद्यालयले २२ लाख रुपैयामा जग्गा खरिद गरिसकेको छ । आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएको छ । १७४ जना बालबालिकाले अध्ययन गर्ने सो विद्यालयको ५ वटा कक्षा टहराबाट सञ्चालन भएको छ । कक्षा ४, ५, ६, ७ र ८ का एक सय भन्दा बढी विद्यार्थीलाई त्रिपालले छाएको, जस्ताले बारेको टहरामा राखेर पढाउने गरीएको छ ।

आगलागी हुँदा सो विद्यालयको १० कोठे भवन जलेर ध्वस्त भएको थियो । विद्यालयको प्रशासन, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षा कोठा रहेको भवनमा आगलागी हुदाँ ९२ लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो । भवन पुननिर्माणका लागि जिल्ला शिक्षा कार्यालय र बेनी नगरपालीका कार्यालयसंग सहयोगको अपेक्षा राखेका छन् ।