पार्टीमा क्यान्सर लाग्यो भन्दै प्रचण्डले बनाए १५ बुँदे आचारसंहिता

१५ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले एमाओवादी पार्टीभित्र क्यान्सर लागेको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका छन् ।

‘क्यान्सरझै फैलिइरहेको गुटबन्दी, अराजकता, व्यक्तिवादजस्ता ग्रैह सर्वहारा आचरण र कार्यशैली हटाउन आज पार्टीमा ठूलो शल्यक्रियाको खाँचो छ,’ मंगलबार पेरिसडाँडामा आयोजित केन्द्रीय समिति बैठकमा २७ पृष्ट लामो राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले भनेका छन्-‘पार्टी पुनर्निर्माणको अन्तिम अवसरका रुपमा केन्द्रीय समितिको यो बैठकले त्यो शल्यक्रिया गरी क्यान्सर लागेको भाग हटाउन आँट गर्नैपर्छ ।’

prachand-1

रुपान्तरणसहित पार्टी पुनर्निर्माणको अभियानमा दृढतापूर्वक लागौं भन्ने लामो शीर्षक प्रचण्डले राखिएको दस्तावेजमा प्रचण्डले मार्क्सवाद लेनिनवाद र मालेमावादको विकास गर्दै समाजवाद र साम्यवादको बाटोमा अघि बढ्ने क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्ने बताएका छन् ।

प्रचण्डको दस्तावेजमा भनिएको छ-‘आज हाम्रा अगाडिको मुख्य चुनौती सही विचार, रणनीति र कार्यनीति निर्धारणको होइन, बरु त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने क्रान्तिकारी पार्टी निर्माणको हो ।’

‘क्यान्सर’ हटाउन १५ बुँदे आचारसंहिता

प्रचण्डले पार्टीभित्रको क्यान्सर हटाउने उपायस्वरुप १५ बुँदे आचार संहिता प्रस्ताव गरेका छन् । आचार संहितामा स्थायी समितिभन्दा तल्लो तहका नेताहरुलाई गाडी प्रयोगमा रोक लगाउने प्रस्ताव गरिएको छ ।

साथै केन्द्रीय नेताहरुले समेत अनिवार्य श्रम गर्नुपर्ने र छोराछोरीलाई विदेश, महंगा निजी तथा आवासीस स्कुलमा पढाउन नपाउने प्रचण्डको प्रस्ताव छ । आइएनजीओ /एनजीओमा काम गर्नसमेत प्रचण्डले पार्टी नेता/कार्यकर्ताहरुलाई रोक लगाउने प्रस्ताव गरेका छन् ।

मंगलबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रचण्डले कडा आचारसंहिता प्रस्ताव गरेका छन् । जसमा केन्द्रीय समितिका सबै सदस्यहरु पूर्णकालीन पेवेशर क्रान्तिकारी हुनु पर्नेसहितका १५ वटा बुँदागत सर्तहरु छन् ।

के-के छ आचारसंहितामा ?

पार्टीको निर्णय र योजनाविना आर्थिक उपार्जनको काम गर्न नपाउने र आय व्ययको विवरण प्रत्येक तीन महिनामा केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्तावित आचार संहितामा उल्लेख छ ।

पार्टीको विशेष योजनाअन्तरगत गरिएका निर्णय बाहेक आइएनजीओ र एनजीओमा संलग्न हुन नपाइने अर्को सर्त छ । केन्द्रीय सदस्यहरुले भ्रष्टाचार, तस्करी तथा पार्टीको नाममा आफ्ना लागि चन्दा लिए गम्भीर अपराधको रुपमा लिएर कडा कारबाही गर्ने आचार संहितामा उल्लेख छ ।

एमाओवादीले स्थायी समिति सदस्यहरुले गाडी प्रयोग गर्न पाउने प्रस्ताव गरिएको छ । राज्य कार्यालयहरुमा कार्यालय प्रयोजनका लागि एउटा गाडी दिने र केन्द्रीय सदस्यहरुले आवश्यक परे मोटरसाइकल प्रयोग गर्ने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।

साथै स्थायी समिति सदस्यलाई एकजना ड्राइभर र दुईजना सहयोगी तथा पोलिटब्यूरो सदस्यलाई एकजना सहयोगी दिइने प्रचण्डको प्रस्ताव छ । सुरक्षा लगायत विशेष कारणले कसैले गाडी वा सहयोगी आवश्यक परे केन्द्रीय कार्यालयको अनुमति लिनुपर्ने प्रचण्डको प्रस्ताव छ ।

परिवारका सदस्य पार्टीमा लाग्नैपर्ने

केन्द्रीय सदस्यहरुका एकाघर परिवारका सदस्यहरु पार्टी वा पार्टीसँग सम्बन्धित कुनै न कुनै संगठनमा आवद्ध हुनैपर्ने भएको छ । साथै केन्द्रीय पदाधिकारीले दुई महिनामा एक दिन र अन्य केन्द्रीय सदस्यहरुले महिनामा एक दिन शारीरिक श्रममा भाग लिनु पर्ने प्रस्तावमा उल्लेख छ ।

बुधबार प्रचण्डको प्रतिवेदन अध्ययन गर्न केन्द्रीय सदस्यहरुलाई समय दिइएको छ । अर्को बैठक विहीबार बस्ने छ ।onlinekhabar