प्रवासी युवाहरुको सक्रियतामा गाउँमा खेलमैदान निर्माण

विकल्प न्यूज/बेनी
म्याग्दी १० बैशाख ।
बेनी नगरपालीका ९ काउलेगौडामा प्रवासमा रहेका युवाहरुको सक्रियतामा खेलमैदान निर्माण भएको छ ।

रोजगारी, अध्ययन र पेशा ब्यवसायको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका काउलेगौडाका युवाहरुले प्रवासमा नगद संकलन गरेर व्यवस्थित खेलमैदान निर्माण गरेका हुन् ।
जापान, अमेरीका, बहराइन, दुवई, कतार, ओमन लगायत देशमा रहेका युवाहरुको सहयोगमा ३५ मिटर लम्बाई र ११ मिटर चौडाई भएको खेलमैदान निर्माण गरिएको निर्माण समितिका कोषाध्यक्ष रुद्र रेग्मीले बताउनुभयो ।

हाल जापानमा रहेका गणेश श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिले चार लाख १५ हजार रुपैया सहयोग जुटाएका थिए । चार लाख दश हजार रुपैयाको लागतमा खेलमैदान निर्माण भएको कोषाध्यक्ष रेग्मीले बताउनुभयो ।
Kaulagauda 1खेलमैदानको वरपर पन्ध्र मिटर अग्लो ट्रस (फलामको ) पाईप राखेर तारजालीले घेराबार गरिएको छ । बिचभागमा माटो राखेर फिलीङ गरिएको खेलमैदानको छेउमा ढलान गरिएको छ । भलिबल खेललाई लक्षित गरेर निर्माण भएको खेलमैदानमा बास्केटबल पनि खेल्न सकिन्छ ।
स्थानीय सल्लेरी नरवुद्धी प्राबिको परिसरमा रहेको सो खेलमैदान निर्माणका लागि हाल बेलायतमा रहनुभएका भोजबहादुर बानियाले जग्गा उपलब्ध गराउनुभएको थियो । व्यवस्थित खेलमैदान निर्माण भएपछि भलिबल खेलमा म्याग्दीमै अगाडी रहेका काउलेगौडाका खेलाडीहरु उत्साहीत भएका कल्वका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो । Kaulagauda (1)काउलेगौडा युवा कल्वले म्याग्दी र छिमेकी जिल्लाहरुमा आयोजना हुने भलिबल प्रतियोगितामा थुप्रै उपाधी जितेको छ । व्यवस्थित खेलमैदान अभावमा समस्यामा परेका खेलाडीहरुको मनोबल बढाउन र खेल अभ्यास गर्न सहज होस भनेर खेलमैदान निर्माणमा सघाएको सहयोग संकलन अभियानका संयोजक गणेश श्रेष्ठले बताउनुभयो ।