कोरल्ला नाकाको अवस्था अध्ययनका लागि संसदीय टोली मुस्ताङमा
सन्तोष गौतम/विकल्प
म्याग्दी मंसिर १४ गते । उत्तरी मित्रराष्ट्र चिनको स्वसाशित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाकाको बस्तुस्थिती अध्ययनका लागि संसदीय टोली सोमबार मुस्ताङ पुगेको छ ।
व्यवस्थापीका संसद अन्तरगतको विकास समितिका सभापति रबिन्द्र अधिकारीको नेतृत्वमा पाँच सदस्यीय टोलीले कोरल्ला नाकाको बस्तुअवस्था अध्ययन सुरु गरेको हो । टोलीमा सांसदहरु श्रीमाया थकाली (मुस्ताङ), प्रकाश शर्मा पौडेल (बागलुङ), गणेश पहाडी (सिन्धुली) र तुलसा राना (पाल्पा) सहभागि हुनुहुन्छ ।
टोलीले उपल्लो मुस्ताङको लोमान्थाङ हुदै तिब्बतको सिमानामा पर्ने कोरला नाका पुगेर त्यहाँको पुर्वाधारको अवस्थाको बारेमा तिन दिनसम्म अध्ययन गर्ने सभापति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार संसदीय टोलीले नाकासम्म पुग्ने सडक, भन्सार कार्यालय, पुर्वाधार लगायतको अवस्थाको बारेमा अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।
मुस्ताङबाट फर्कीएको २ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाइने सभापति अधिकारीले बताउनुभयो । संसदीय टोलीले सदरमुकाम जोमसोममा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सुरक्षा अधिकारी र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुसंग आवश्यक जानकारी लिएर लोमान्थाङतर्फ गएको छ ।
संसदीय टोलीले यसअघि रसुवाको केरुङ नाकाको बारेमा पनि अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाईसकेको छ । भारतीय सिमा नाकाहरु भारतको नाकाबन्दी र मधेश आन्दोलनका कारण प्रभावित बनेपछि नेपाल र चिनबीच ब्यापारीक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका सञ्चालनका लागि सरकारले पहल थालेको छ ।
सरकारले कोरला नाकालाई उत्तरी क्षेत्रका मध्य तेस्रो प्राथमिकतामा राखेको छ । कोरला नाका सञ्चालनका लागि सुख्खा बन्दरगाहा, सुरक्षा व्यवस्था र सडक मार्गको सुधार गर्नुपर्ने स्थानीय बासीन्दाको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्