बसन्त बोगटीद्धारा सामाजिक कार्यका लागि ७५ लाखको अक्षयकोष

सन्तोष गौतम /विकल्प
म्याग्दी मंसिर ११ गते । म्याग्दीको रत्नेचौर रहेको बसन्त बोगटी सदावर्त गुठी कोष सञ्चालक समितिले रु. ७५ लाखको अक्षयकोष स्थापना गरेको छ ।

सामाजिक, मानवीय र धार्मीक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो । राहुघाट जलविद्युत आयोजनाले जग्गा अधिग्रहणका क्रममा उपलब्ध गराएको नगद र बोगटी बन्धुहरुबाट सहयोग संकलन गरेर ७५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको संस्थाका अध्यक्ष ईञ्जिनियर कृष्णबहादुर बोगटीले जानकारी दिनुभयो ।

DSC04434

अक्षयकोषबाट प्राप्त हुने ब्याज धार्मीक तथा शैक्षिक स्थलमा खानेपानी सुबिधा विस्तार, धर्म, संस्कृतीको संरक्षण र प्राकृतीक विपत्तिमा परेकाहरुलाई उपलब्ध गराइने अध्यक्ष बोगटीले जानकारी दिनुभयो ।

मुस्ताङ स्थित मुक्तिनाथको तिर्थयात्रामा आउने भक्तजनको सुबिधाका लागि बसन्त बोगटीले वि.स १८८६ मा ज्यामरुकोट, पिप्ले र हिस्तानको महभिरमा वार्षिक १७६ मुरी अन्न उत्पादन हुने जग्गालाई गुठीमा दर्ता गराउनु भएको थियो । सो मध्य पिप्ले १ तिल्केनीचौरमा रहेको २९ रोपनी जग्गा राहुघाट जलविद्युत आयोजनाले अधिग्रहण गरेको थियो ।
यसैगरी शुक्रबार बसन्त बोगटी सदावर्त गुठी कोष सञ्चालक समितिको बेनी नगरपालीका ६ मा कार्यालय स्थापना गरिएको छ । समितिका सचिव चिरञ्जिवी बोगटीले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष ईञ्जिनियर कृष्णबहादुर बोगटीले कार्यालयको उद्घाटन गर्नुभएको थियो ।