साउनको सोमबार गलेश्वर शिवालयमा भक्तजनको चहलपहल
ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन ४ गते । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा साउन महिनाको पहिलो सोमबार आज विहानै देखि भक्तजनको चहलपहल सुरु भएको छ । बेनी नगरपालिका–९, गलेश्वरधाममा अवस्थित गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको पहिलो सोमबार पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुका कारण चहलपहल बढेको हो ।
साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । गलेश्वर शिवालय मन्दिरमा पूजा आराधना र दर्शन गर्न टाढा–टाढा देखि महिला तथा युवायुवतीहरु निकै संख्यामा आएका छन् । बिहानै देखि भक्तजनहरू लामबद्ध भएर मन्दिरमा पूजा र दर्शन गरिरहेका छन् ।
साउन महिनामा शिवालय मन्दिरमा गङ्गाजल र बेलपत्रले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकांक्षा पूरा हुने जनविश्वास रहेको कारण साउन महिनाभरी गलेश्वरमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ । मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको गलेश्वर शिवालयमा साउन महिनामा भारतीय भक्तजनहरु पनि उल्लेख्य मात्रामा आउने गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
एकमहिने साउने सोमबार मेलालाई व्यवस्थित बनाउन कोषका तर्फबाट सबै तयारी गरिएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले बताउनुभयो । साउन महिनाका सोमबार गलेश्वरमा पूजा–अर्चना तथा दर्शनका लागि म्याग्दी, पर्वत, बागलुङलगायत देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । भक्तजनको सहज दर्शन, पूजा–अर्चना र सुरक्षा व्यवस्थापनका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले २५ वटा उपसमिति गठन गरी परिचालन गरेको उहाँले जानकारी दिनुभयो ।
कालीगण्डकी र राहुघाट नदीको किनारमा ९ रोपनी क्षेत्रफलको चट्टान माथि फैलिएको गलेश्वर शिवालय मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई व्यवस्थित रुपमा पूजा गराउन गलेश्वर क्षेत्र विकास कोष, प्रहरी, गलेश्वर आमा समूह, लगायतले स्वयंसेवकको भूमिका निर्वाह गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्