‘एक घर–एक धारा’ अभियानले मालिकामा बदलियो खानेपानीको अवस्था
ठाकुरप्रसाद आचार्य
मालिका गाउँपालिका १ निस्कोटका यामबहादुर पुनलाई गाउँको पुछारमा रहेको सार्वजनिक धारा मार्फत खानेपानी घरसम्म ल्याउन करिब ३० मिनेट लाग्थ्यो । उहाँले भन्नुभयो, ‘‘३७ वर्ष अघि गाउँमा बनेको खानेपानी योजनाका सार्वजनिक धाराहरू मार्फत गाउँले पानी उपभोग गर्दै आएका थियौं । योजना जिर्ण भएकाले गाउँमा पानीको निकै समस्या थियौं । गाउँको पुछारमा रहेको धारा र कुवाबाट पानी ल्याएर पिउने गरेकोमा अहिले घरघरमा खानेपानीका निजी धारा बनेपछि पानीको समस्या हटेको छ ।’’
नेवाको ६४ लाख रुपियाँ र स्थानीयको ३० लाख रुपियाँ बराबरको श्रमदान गरी ९४ लाख रुपियाँमा गत वर्ष निस्कोट खानेपानी योजना सम्पन्न भएपछि यहाँका एकसय २५ घरधुरीलाई स्वच्छ खानेपानीको सुविधा पुगेको छ । निस्कोटमा मात्र होइन नेवा र गाउँपालिकाको साझेदारीमा पालिकाभरी विगत तीनवर्ष अवधिमा साना ठूला गरेर १५ वटा खानेपानीका योजनाहरु सम्पन्न भएका छन् । जसबाट एकहजार ५०४ घरधुरीमा खानेपानीको सुविधा पुगेर ८ हजार ७ सय ४२ जना प्रत्यक्ष लाभान्वित भएका छन् । यो माथिको तथ्याङ्क नेवा र गाउँपालिकाको साझेदारीमा सम्पन्न योजनाहरुको हो ।
गाउँपालिकाले प्रत्येक नागरिकको घरघरमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखेर नेवा र खानेपानी जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सँग सहकार्य गरेर ‘‘एक घर एक धारा’’ योजनलाई अगाडी बढाएको पालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ केही वर्ष अघि सम्म धेरै वस्तीहरुमा स्वच्छ पिउने पानीको निकै समस्या थियो । २०७९ पछि हामीले एक घर एक पिउने पानीका धारा योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न थालेपछि अहिले अधिकांश वस्तीमा पिउने पानीको सुविधा पुगेको छ ।’’ एकवर्षको अवधिमा पालिकाका सबै घरधुरीमा निजी धारा जडान गर्ने लक्ष्य लिएको उहाँको भनाई छ ।
वडा नम्बर १ निस्कोटमा पाँचसय १० घरधुरी रहेकामा मा नेवा र पालिकाको साझेदारीबाट खानेपानीका तीनवटा योजना सम्पन्न हुँदा एकसय ९८ घरधुरीमा एक एक धारा जडान गरिएको छ । भने गाउँपालिका र अन्य सरकारी कार्यालयबाट गरी हाल सम्म २३८ घरधुरीमा पानीका धारा जडान गरिएको छ । वडाध्यक्ष टंक पुनका अनुसार निस्कोटमा ४७ घरधरीमा पानीका निजी धारा जडान गर्न वाँकी छ । एकवर्ष भित्रमा ति घरहरुमा पनि धारा जडान गरी स्वच्छ पिउने पानीको पहुँचमा ल्याउने उहाँले बताउनुभयो ।
नेवा र पालिकाको साझेदारीमा वडा नम्बर २ मा रुमको विलबाङमा ६४ घरधुरी,कलात भनारी ७३ घरधुरी, ठूलो रुम गाउँमा २७१ घरधुरी,धुलवाङ १५८ घरधुरी,खबाङ शेरेधारामा ७२ घरधुरी, घाङ्ले पानीमा ९८ घरधुरीमा गरी ७ सय ३६ घरधुरीमा स्वच्छ पिउने पानीको पहुँच विस्तार भएको छ । वडाध्यक्ष उदयबहादुर बुढाथोकीका अनुसार वडामा रहेका करिब सबै ८ सय ६० घरधुरीमा पानीका धारा जडान गरिएको छ । उहाँले भन्नुभयो,‘‘वडका सबै निजी घरहरुमा स्वच्छ पिउनेपानीको सुविधा विस्तार भएको छ । छरिएर रहेको र भौगोलिक रुपमा विकट स्थानमा भएका घरहरु बाहेक सबै घरमा निजी धारा जडान गरिएको छ ।’’
यसैगरी वडा नम्बर ३ को डाँडागाउँको बोक्रेमा दुईसय २५ घरधुरी,लुक्सीपारमा ४६ घरधुरी र पात्ले सिममुल १२१ घरधुरी गरी तीनसय ९२ घरधुरीमा स्वच्छ पिउने पानीको सुविधा विस्तार गरिएको छ । गाउँपालिका र नेवा संस्थाको साझेदारीमा पात्ले, लुुम्पीपार र डाडागाउँमा तीनवटा योजना निर्माण गरिएको छ । ती योजनाबाट चार सय घरपरिवार लाभान्वित भएको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुम्पीपार टोलमा खानेपानी सुविधा विस्तार भएको भएको छ ।
यसैगरी वडा नम्बर ४ ओखरबोटका चार ३१ घरधुरी सबैमा स्वच्छ खानेपानीको पहुँच विस्तार भएको वडाध्यक्ष भजेन्द्रमान पुन बताउनुभयो । वास कार्यक्रम,खानेपानी,जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय बेनी र गाउँपालिकाको योजनाबाट वडाका सबै घरधुरीमा पानीका धारा जडान गरिएको उहाँले बताउनुभयो ।
वडा नम्बर ५ देविस्थानका ८०० घरधुरी मध्य करिब चारसय घरधुरीमा स्वच्छ पिउने पानीको सुविधा विस्तार भएको छ । वडाध्यक्ष मिम पुनका अनुसार ठूला वस्तीका निजी घरहरुमा पानीका धारा जडान गरिएको छ । छरिएर रहेका वस्तीका घरमा भने निजी धारा जडान गर्न वाँकी रहेको उहाँको भनाई छ ।
उहाँका अनुसार जग्जाका ६६ घर,मगरदाङका दुईसय घर,रुम्माका एकसय ५० घरधुरीमा स्वच्छ खानेपानीको सुविधा विस्तार भएको छैन । थापाचौरका ३१ घरका लागि भने खानेपानी योजना निर्माणधिन रहेको छ । केही वस्तीहरुमा गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानीको योजनाहरु सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो । नियमित रुपमा बजेट प्राप्त भए केही वर्षभित्र वडाका सबै घरधुरीहरुमा निजी धारा जडान गर्न सकिने उहाँको भनाई छ । गाउँपालिका केन्द्र रहेको वडा नम्बर ६ दरबाङका करिब सातसय घरधुरी मध्य चारसय घरधुरीमा निजी धारा जडान गरी पिउने पानीको सुविधा विस्तार गरिएको छ ।
पालिकाको वडा नम्बर ७ बिम डाडा गाउँ र बिममा गरेर १७७ घरधुरीमा नेवा र पालिकाको साझेदारीमा सञ्चालित खानेपानीको योजनाबाट घरघरमा निजी धारा जडान गरिएको छ । गाउँपालिका र अन्य सरकारी कार्यालयबाट विभिन्न समयमा सञ्चालित योजनाहरुबाट बिमका सबै घरधुरीमा निजी धारा जडान गरी स्वच्छ पिउने पानीको सुविधा उपलब्ध भएको वडाध्यक्ष टकबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार विममा रहेका ३ सय ८६ घरधुरीमा खानेपानीका धारा जडान गरी करिब २६ सय जनसंख्या लाभान्वित भएका छन् ।
केही वर्ष अघिसम्म एक गाग्री पानी लिन घण्टौं लाइनमा वस्नुपर्ने मािलकावासीहरु भने घघरमा जडान भएका निजी धाराबाट पानी आउन थालेपछि सफा र स्वच्छ पिउने पानीको उपभोग गर्नपाउनुका साथै समयको पनि बचत भएको छ । नेवा,गाउँपालिका र समुदायको गरेर सम्पन्न भएका १५ वटा खानेपानीका योजनाहरु सम्पन्न गर्दा ७ करोड ९० लाख ४६ हजार पाँचसय ५० रुपियाँ बराबर कुल लागत लागेको छ । यसमध्य नेवाको ३ करोड ९१ लाख ७३ हजार १२२ रुपियाँ खर्च भएको छ । पालिकाको एक करोड ६४ लाख ४७ हजार ८२९,समुदायको १७ लाख ८१ हजार ३२२ रुपियाँ नगद र दुई करोड १६ लाख ४४ हजार २१७ रपियाँ बराबरको समुदायले श्रमदान गरेका छन् ।
मालिका गाउँपालिकाले चालु आर्थिक वर्षमा पालिका भित्र रहेका विभिन्न वस्तीहरुमा गरेर खानेपानीका योजना निर्माण तथा मर्मतसम्भारका २६ वटा योजनाहरु सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले बताउनुभयो । सबै नागरिकलाई स्वच्छ,सुरक्षित,गुणस्तरीय तथा दिगो खानेपानी सेवा उपलब्ध गराउने पालिकाले नीति अवलम्बन गरेको पालिका अध्यक्ष गर्बुजाले बताउनुभयो ।
खानेपानीको जटिल समस्याको तत्कालिन,अल्पकालिन र दिर्घकालिन समाधानका लागि सम्भाव्य स्रोतहरुको खोजी तथा योजना तयार गरी खानेपानीको उत्पादन तथा विरणलाई निरन्तरता दिने पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
विभिन्न खोला,नदी तथा अन्य स्रोतबाट खानेपानीलाई आपूर्ति गर्ने व्यवस्थाको लागि प्राविधिक सम्भाव्यता अध्ययन गरी संघ तथा प्रदेश सरकारको सहकार्यमा निर्माण गर्ने कार्यलाई निरन्तरता दिने नीति लिएको छ ।
खानेपानीको नियमित गुणस्तर परिक्षण तथा पानीजन्य रोग नियन्त्रण कार्यक्रम सरोकारवालाहरुको समन्वयमा सञ्चालन गर्ने नीति लिएको पालिका अध्यक्ष गर्बुजाले बताउनुभयो । एक घर एक धारा कार्यक्रम मार्फत पालिकाका सबै घरधुरीमा निजी धारा जडान कार्यलाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्षका लागि बजेटको समेत व्यवस्था गरिएको उहाँको भनाई छ । मालिका गाउँपालिकाको मिडिया फलोसिप कार्यक्रम अन्तर्गत तयार पारिएको समाचार समाग्री


प्रतिक्रिया राख्नुहोस्