बौद्ध कपको फाइनलमा मितेरी र एभरग्रिनबीच उपाधि भिडन्त
म्याग्दी,कात्तिक २२ गते । बेनीमा जारी चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि आइतबार मितेरी दुखु युवा क्लब र एभरग्रिन युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार सम्पन्न सेमिफाइनलमा जित निकाल्दै दुवै टोलीले फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
प्रतियोगितामा तेस्रो स्थानका लागि आइतबार विहान १० बजे मुनसन र पश्चिम दरबाङको खेल हुने भएको छ । बेनी नगरपालिका–७ मंगलाघाटस्थित वौद्ध युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा नेपालको ए डिभिजनका खेलाडीसहित विदेशी खेलाडीको आगमनले दर्शकलाई उत्साहित बनाएको थियो । प्रतियोगितामा विजेताले दुई लाख २२ हजार दुई सय २२ रुपियाँ,उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपियाँ र तेस्रो हुने टोलीले ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । अनुशासित टोलीलाई २२ हजार दुई सय २२ रुपियाँ प्रदान गरिने क्लबका सचिव श्यामसुन्दर कँडेलले जानकारी दिनुभयो ।
उत्कृष्ट खेलाडी,डिफेन्डर, मिडफिल्डर,स्ट्राइकर,सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही सात हजार सात सय ७७ रुपियाँ नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ । धौलागिरी क्षेत्रका चार जिल्ला बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङमा हालसम्म आयोजना भएका फुटबल प्रतियोगितामध्ये बौद्ध कपको पुरस्कार राशि सर्वाधिक रहेको क्लव अध्यक्ष दुर्गा बुढामगरले बताउनुभयो । प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सञ्चालन भइरहेको अध्यक्ष बुढामगरको भनाई छ । खेलले बेनीको खेल पर्यटनलाई समेत टेवा पुगेको उहाँको भनाई छ ।
प्रत्येक टोलीमा बढीमा दुई जना विदेशी खेलाडी समेत समावेश गर्न पाइने व्यवस्था अनुसार केही क्लवले प्रति खेल २० हजार रुपियाँ सम्म तिरेर बिदेशी खेलाडीलाई भित्राएका थिए । टिकट बिक्रीबाट संकलन भएको रकमको ४० प्रतिशत म्याग्दीका बाढीपहिरो प्रभावितहरुलाई राहत स्वरुप प्रदान गर्ने क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि प्राप्त भएको चन्दा सहयोगबाट बाँकी रहेको रकमले क्लबको भवन र कोष स्थापना गर्ने क्लबका अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्