देउसी–भैलो राति १० बजेसम्म मात्र खेल्न प्रशासनको आग्रह
ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक २१ गते । तिहार पर्वलाई सभ्य,मर्यादित,व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय म्याग्दीले देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुने गरी देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न सर्वसाधारण, क्लब, संघसंस्था,आयोजक र सरोकारवालालाई अनुरोध गरेको हो । देउसी–भैलो कार्यक्रममा सहभागी हुने व्यक्तिले मादक पदार्थ सेवन नगर्न, ध्वनि प्रदूषण हुने गरी ठूलो आवाजमा माइक तथा लाउडस्पिकर प्रयोग नगर्न र सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न सूचना जारी गरी अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।
कुनै घर, निजी आवास, कार्यालय तथा व्यापारिक प्रतिष्ठानमा देउसी–भैलो खेल्न जाँदा घरधनी वा सम्बन्धित जिम्मेवार व्यक्तिको पूर्व स्वीकृति लिनुपर्ने प्रशासनले जनाएको छ । अनुमति नदिएको स्थानमा जबर्जस्ती देउसी–भैलो खेल्ने वा चन्दा तथा दक्षिणा माग्ने कार्य नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले भुइँचम्पा, आतिसबाजी, रकेट र पटका जस्ता विस्फोटक पदार्थको प्रयोग,ओसारपसार, बिक्री वितरण तथा भण्डारण नगर्न सचेत गराएको छ । यस्ता पदार्थबाट आगलागी तथा चोटपटकको जोखिम हुने भएकाले सावधानी अपनाउन सर्वसाधारणहरुमा अनुरोध गरिएको छ । सडक,चोक,गल्ली,फुटपाथ तथा सार्वजनिक स्थानमा सवारी आवागमन र पैदलयात्रीलाई अवरोध हुने गरी कार्यक्रम सञ्चालन नगर्न,सर्वसाधारण, व्यवसायी, घरधनी तथा यात्रुलाई जबर्जस्ती रकम माग्ने, दबाब दिने, धम्क्याउने र अभद्र व्यवहार नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
त्यसैगरी बालबालिकालाई असुरक्षित स्थानमा लैजाने तथा जोखिमपूर्ण गतिविधिमा संलग्न गराउने कार्य नगर्न र जातजाति, धर्म, भाषा, संस्कृति तथा समुदायबीच घृणा, द्वेष र अपमान फैलाउने गीत, नारा तथा गतिविधि नगर्न सूचनामार्फत आग्रह गरिएको छ । देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने समूह, क्लब,संघसंस्था तथा आयोजकले आवश्यकता अनुसार सम्बन्धित स्थानीय तह र नेपाल प्रहरीसँग समन्वय गर्नुपर्ने प्रशासनले जनाएको छ ।
कुनै विवाद, आगलागी वा शङ्कास्पद गतिविधि भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको हेल्पलाइन नम्बर १०० मा जानकारी गराउन पनि अनुरोध गरिएको छ । तिहारका अवसरमा जुवाजन्य गतिविधिमा सहभागी हुने,खेल्ने वा खेलाउने कार्य नगर्नसमेत प्रशासनले सचेत गराएको छ ।
सार्वजनिक शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्