विपद् व्यवस्थापनमा रघुगङ्गाको प्रयास
ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन २९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले मनसुनजन्य विपद् व्यवस्थापन तथा न्यूनिकरणलाई प्राथमिकतामा राखेर कार्य गरेको छ । राहुघाट र कालिगण्डकी कोरिडोरमा पर्ने गाउँपालिका बाढीपहिरो र प्राकृतिक विपत्तीको उच्च जोखिमयुक्त पालिका हो । भौगोलिक बनावट र नदीनालाका कारण रघुगङ्गाको ग्रामिण क्षेत्रहरु बाढी र पहिरोको जोखिममा छन् ।
पछिल्लो समय जलविद्युत आयोजनाहरूले अव्यवस्थित रूपमा गर्ने निर्माण कार्यका कारण विपद्को जोखिम बढ्दै गएकाले पालिकाले विपद् व्यवस्थापन तथा न्यूनिकरणलाई प्राथमिकतामा राखेको पालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
गाउँपालिकाले दिएको जानकारी अनुसार वेग, तिप्ल्याङ, तिल्केनी, गलेश्वर, घ्यासीखर्क, चौरखानी क्षेहरु बाढीको उच्च जोखिम क्षेत्रहरु हुन भने पाखापानीको औल,रायखोल, कुइनेमंगले, चिमखोला, दग्नाम, राखुभगवति, बेगखोला क्षेत्रहरु पहिरोको जोखिममा रहेका क्षेत्रहरु हुन । कालिगण्डकी कोरिडोर सडकमा पर्ने वैसरी पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पर्दछ ।
गाउँपालिकाले सम्भावित प्राकृतिक विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राख्दै विपद् पूर्व तयारी तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन साधनस्रोतको व्यवस्थापनलाई प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो ।
पालिका भित्र रहेका पाँचवटा प्रहरीचौकीहरुलाई विपद्का समयमा उद्दारका लागि आवश्यक पर्ने सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले विपद् व्यवस्थापनलाई तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन पालिकामा विपद् व्यवस्थापन कोष स्थापना गरी उक्त कोषमा ५० लाख रुपियाँ जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
बाढी, पहिरो, भूकम्प,आगलागी लगायतका सम्भावित विपद्बाट हुने क्षति कम गर्न पूर्व तयारीलाई उच्च प्राथमिकतामा राखिएको उहाँको भनाई छ । कोषमार्फत तत्काल उद्धार, राहत वितरण तथा पुनःस्थापना कार्यलाई छिटो र प्रभावकारी बनाएको उहाँले बताउनुभयो । स्थानीय समुदायलाई समेत विपद् प्रतिकार्य, तालिम र सचेतनामूलक कार्यक्रममा सहभागी गराउने गरिएको उहाँको भनाई छ ।
गाउँपालिकाले मनसुनजन्य विपद्बाट प्रभावित भएकाहरुलाई आवास पुननिर्माण गर्ने कार्यक्रम पनि सञ्चालन गरेको छ । पालिकाले वडास्तरमा विपद् व्यवस्थापन समिति गठन गरेको छ । पालिकाले विपद्बाट घर पूर्ण क्षति भएका पीडितलाई २५ हजार, मर्मत तथा प्रवलिकरणका लागि अवस्था हेरेर १५ हजार र १० हजार रपियाँ राहत दिने व्यवस्था मिलाइएको पालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
रघुगंगा नदीमा आउने बाढी तथा पहिरोको जानकारी तटीएका क्षेत्रमा सूचना दिनका लागि एकजना सूचना प्रवाह गर्ने कर्मचारी समेत परिचालन गरिएको पालिकाले जनाएको छ । पालिका भित्र सडक पुगेका स्थानहरुमा तत्कालन उद्धारको व्यवस्था मिलाउनका लागि एउटा एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले वर्षातको समयमा सडक अवरुद्ध हुँदा तत्काल हेलिकप्टरबाट उद्दारको व्यवस्था मिलाउन दुर्गम वडाहरुमा हेलिप्याडको समेत निर्माण गरेको छ । अहिले सम्म पालिकाले हेलिकप्टरबाट उद्धार गरेर पाँचजनाको ज्यान बचाएको पौडेलले जानकारी दिनुभयो । असुरक्षित स्थानमा रहेका वस्तीहरुलाई सुरक्षित स्थानमा घर निर्माण गरी स्थानान्तरण गर्ने योजना समेत पालिकाले बनाएको छ ।
विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्य योजनाका आधारमा जोखिम प्रभावित क्षेत्र पहिचान तथा नक्साङ्कन गरी जोखिमबाट हुनसक्ने सम्भावित दुर्घटनाका लागि पूर्व सावधानी अपनाउन पालिकाले आवश्यक पहल गर्ने पालिका अध्यक्ष भण्डारीले बताउनुभयो । विपद्का समयमा हुने आकस्मिक जनधनको क्षतिलाई न्यूनिकरण गर्न स्थानीयवासी,सुरक्षा निकाय,विभिन्न संघसस्था लगायत सँग आवश्यक समन्वय गरी उद्दार र राहत कार्यलाइृ प्रभावकारी बनाइएको अध्यक्ष भण्डारीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्