पढेर वा थाहा पाएर कोही लेखक हुने होइन, तर पनि केही कुरा छन् जसमा विचार गरे लेखनमा केही सहायता पक्कै हुन्छ । लेख्न सजिलो छ, धेरै सजिलो तर अरूको मुटु पगाल्ने गरी लेख्न भने धेरै गाह्रो छ । केही हदसम्म लेखन गड गिफ्ट पनि हो, तर मेहनत गर्दा केही कुरा बन्छ पनि । आत्मसन्तुष्टिका लागि लेख्ने हो भने केही छैन, तर आफूले लेखेको कुरा धेरैभन्दा धेरै पाठकले पढून् भन्ने लाग्छ भने धेरै कुरामा ध्यान दिनुपर्छ ।
– सबैभन्दा पहिले हामीले यो थाहा पाउनुपर्यो, कसका लागि लेख्ने ? यो कुरा थाहा पाइसकेपछि त्यो समूह, जात वा लिङ्गका व्यक्ति के चाहन्छन्, निक्र्यौल गर्ने । यसका लागि आवश्यक रिसर्च पनि गर्न सकिन्छ ।
– आफूले लेख्ने कथाले पहिले आफ्नो मगज हल्लाउनुपर्छ । आफैँलाई मन नपरेको विषयमा जबरजस्ती हात हाल्नु हुँदैन ।
– आफूले लेखेको कुराबाट सबैभन्दा पहिले आफैँले इन्जोय गर्नुपर्छ । आफैँ इन्जोय नभएको कुरामा अरु इन्जोय हुन्छन् भन्ने सोच्नु भ्रम हो । सक्दो इन्जोय गरेर लेखौँ । प्रेसरमा लेख्नु हुँदैन, लेखाइ बिग्रन्छ ।
– लेख्न सुरु गर्नुभन्दा पहिले कथाको स्केलेटन बनाउने । कुन च्याप्टरमा के लेख्ने ? कति शब्द खर्चिने मोटामोटी प्लान आवश्यक हुन्छ ।
– के लेख्दै छु ? त्यससँगसम्बन्धित आवश्यक पुस्तकहरू पढ्ने । आवश्यक ठाउँहरूको भ्रमण गर्ने ।
– पुस्तक धेरै अध्ययन गरेर मात्र लेख्न आउँछ भन्ने पनि होइन । अध्ययन धेरै थोकको गर्न सकिन्छ । सही मान्छेको संगतले पनि धेरै कुरा सिकाउँछ । सयौँ पुस्तकबाट नपाएको ज्ञान एउटा राम्रो मान्छेको संगतबाट प्राप्त गर्न सकिन्छ ।
– आफूले लेख्न खोजेको कुरालाई लम्बे–चौडेभन्दा पनि छोटो र मीठो भाषामा भन्ने प्रयास गर्नुपर्छ । अधिकांश मानिसलाई सरल लेखनी नै मन पर्छ ।
– जे लेखे पनि भरसक कसैले हात नहालेको विषयमा लेख्ने प्रयास गर्ने । अरूले बनाएको बाटोमा हिँड्नुभन्दा आफैँले बनाएर हिँडेको बाटोमा आनन्द पनि मिल्छ र प्रशंसा पनि ।
– नयाँ र आधुनिक विम्बहरू छनौट गर्ने । घामजस्तै न्यानो, पानीबिनाको माछा जस्तो, हिँउजस्तै चिसो…….आदि र यस्ता खालका बिम्बको प्रयोगले लेखन खल्लो बनाउँछ । नयाँ विम्बको आवश्यकता छ ।
-हरेक कुरालाई सूक्ष्म दृष्टिकोणले हेर्ने । एउटा सफल र राम्रो लेखकले त्यो चीज देख्छ, जुन
साधारण मान्छेले कत्ति गरे पनि देख्न सक्दैन । मानिसहरू कसरी बोल्छन् ? कस्तो पहिरन कसरी लगाएका छन् ? वरपरको वातावरण कस्तो छ ? मौसम कस्तो छ ? यी सबै चीजको गहिरो अध्ययन गरी बुझ्न र स्मरण गर्न सक्नुपर्छ ।
– लेखनमा सक्दो पन्च लाइन हाल्ने । मानिसहरूलाई मनमा च्वाट्टै बस्ने लाइन लेखियो भने त्यो फेसबुक, ट्वीटरमा सेयर भएर भाइरल हुन्छ र नि:शुल्क विज्ञापन हुन सक्छ । गाह्रो हुन्छ लेख्न, तर यस्ता पञ्च लाइन पुस्तकमा जति सक्दो भएको राम्रो ।
– कथा वा उपन्यास लेख्दा सुरुमै रुचिपूर्ण घटना वा संवाद हाल्ने । यसले पढ्नेको मन झ्वाम्म तानिहाल्छ । लम्बेचौडे लेख्न थालियो भने पहिलो पेजबाटै पाठक बोर हुन थाल्छ र तीन चार पन्ना पढेर पुस्तक थन्क्याइदिन्छ ।
– सक्दो घुम्नुपर्छ । यसले नयाँ घटना फेला पार्न, पात्र चयन गर्न तथा नयाँ अनुभव प्रदान गर्न सक्दो सहयोग गर्छ ।
– मानिसहरू भन्छन्– ‘यसो फुर्सदमा लेख्छु ।’ समय आफैँ कहिल्यै निस्कँदैन, निकाल्नुपर्छ ।