गलेश्वरधाममा आफन्तको सम्झनामा स्मृति भवन निर्माण
म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरधाम शिवालय परिसरमा एकजना आफन्तको सम्झनामा स्मृति भवन निर्माण तथा उद्घाटन भएको छ । शनिवार एक समारोहबीच नवनिर्मित स्मृति भवनको उद्घाटन गरी गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई तालाचाबी हस्तान्तरण गरिएको हो ।
हाल बेलायतमा रहनुभएका काठमाडौँ निवासी सुरेश काफ्लेद्वारा आफ्नी स्वर्गीय श्रीमती विन्दु काफ्ले पराजुलीको नाममा संस्थामार्फत भवन निर्माण गरी उद्घाटन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । १०३ वर्षीया धनसरी पाईजा, गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षक म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र विन्दुका श्रीमान् काफ्लेले उक्त भवनको संयक्त रुपमा उद्घाटन गर्नुभयो ।
विन्दु काफ्ले फाउण्डेशनले कुल एक करोड २५ लाख रुपैयाँको लागतमा दुईतले आधुनिक सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । गएको वर्ष मंसिर महिनामा निर्माण सुरु गरी हालै सम्पन्न भवनको भुइँतलामा सभाहल, पहिलो तलामा कोषको सचिवालय र दोस्रो तलामा भान्साकोठा निर्माण गरिएको छ । नवनिर्मित स्मृति भवन भूकम्प प्रतिरोधी र अपाङ्गतामैत्री रहेको ईन्जिनियर कृष्ण रिजालले बताउनुभयो ।
फाउण्डेशनमार्फत बनाइएको उक्त भवनले गलेश्वर शिवालय क्षेत्र विकास कोषको सचिवालय व्यवस्थापन गर्न सहज हुनुका साथै गलेश्वर मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न आउने भक्तजनहरुलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । भवनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय पनि निर्माण गरिएको छ । भवन उद्घाटन समारोहमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, पुलस्त्य–पुलह क्षेत्र विकास कोषका अध्यक्ष लीलाबहादुर बानियाँ र बरनाथ गुफा व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर बानियाँको उपस्थिति रहेको थियो ।
भवन उद्घाटन समारोहमा सहयोगदाता र निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो भने कार्यक्रम कोषका अध्यक्ष रेग्मीको अध्यक्षता, उपाध्यक्ष बमबहादुर पुनको स्वागत र सदस्य–सचिव सम्मरबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित गलेश्वर मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहिआएको छ ।


प्रतिक्रिया राख्नुहोस्