पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा सांसद जुग्जाली
म्याग्दी, कात्तिक १६ गते । गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन) ले म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा मनसुनजन्य विपद्बाट क्षति पुगेका निजी आवास तथा सार्वजनिक भौतिक संरचनाको निरीक्षण गर्नुभएको छ।
सोमबार उहाँले विपद्बाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै पीडित परिवारसँग भेटघाट गर्नुभएको हो। सो अवसरमा मंगला गाउँपालिका–३ का कार्यवाहक वडा अध्यक्ष भेषकुमारी पुनले वडामा विपद्बाट भएको क्षति र त्यसको व्यवस्थापनका लागि भएका प्रयासबारे जानकारी गराउनुभएको थियो।
निरीक्षणका क्रममा बरंजा निवासी संविधानसभा सदस्य तथा नेपाली कम्युनिष्ट पार्टीका नेता गमबहादुर श्रीस, टेकबहादुर विक, मोहनलाल सापकोटा, मोहनलाल कँडेललगायत सहभागी हुनुभएको थियो।
समय अभावका कारण मंगला गाउँपालिका–४ अन्तर्गतका महेश, धापुङ, बुकेनीलगायतका स्थानमा भएको क्षतिको निरीक्षण गर्न नसकिएको र छिट्टै ती क्षेत्रमा पुगेर अवस्था बुझ्ने सांसद जुग्जालीले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्