रवि र मेलिनाको ‘बोली वचन’ले जित्दै दर्शकको मन(भिडियो सहित)
ठाकुरप्रसाद आचार्य
म्याग्दी,कात्तिक १३ गते । पछिल्लो समय लोकगीत क्षेत्रमा स्थापित म्याग्दीका युवा कलाकार रवि कार्की र लोकप्रिय गायिका मेलिना राईको स्वरमा हालै सार्वजनिक भएको ‘बोली वचन’ गीतले दर्शकको मन जित्दै गएको छ । गीतका आकर्षक टुक्काहरू सामाजिक सञ्जाल टिकटकमा समेत लोकप्रिय भइरहेका छन् । गीतका अंशमा टिकटक भिडियो बनाउने क्रम बढ्दै गएपछि यसले सामाजिक सञ्जालमा चर्चा पाउन थालेको छ ।
प्रेममा मीठो बोली, आत्मीय व्यवहार र आपसी आकर्षणको भाव समेटिएको गीतमा सुजाने सिंह खड्का र रवि कार्कीले अभिनय गर्नुभएको छ । प्रवीण खत्री ‘ठुले’को शब्द रहेको गीतको निर्देशन एकेन्द्र शाराशंकरले गर्नुभएको छ । गीतले बाहिरी सुन्दरताभन्दा व्यक्तिको बोली, व्यवहार र संस्कारले मन जित्ने भावलाई प्राथमिकता दिएको छ । प्रिय व्यक्तिको मिठो बोलीले मनमा प्रेमको तरङ्ग पैदा गर्ने र उसको उपस्थितिले जीवनलाई सुन्दर बनाउने भाव गीतमा व्यक्त गरिएको छ ।

सरल र बोलचालको भाषाशैली, प्रेमिल शब्द तथा मधुर लयले गीतलाई सहज र गुनगुनाउन सकिने बनाएको छ । कलाकारद्वयको अभिनयले गीतको प्रेमिल भावलाई थप जीवन्त बनाएको छ । गीतले प्रेम सम्बन्धलाई बलियो बनाउन मीठो बोली, असल व्यवहार,आपसी सम्मान र इमानदारी आवश्यक हुने सन्देश दिएको छ ।
गायक रवि कार्कीकै युट्युब च्यानलमार्फत पाँच दिनअघि सार्वजनिक भएको ‘बोली वचन’ गीतलाई हालसम्म चार लाख ३० हजारभन्दा बढी पटक हेरिएको छ । छोटो समयमै गीतले दर्शकको राम्रो साथ पाएपछि गायक कार्कीले खुसी व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्