चक्रवात ‘अर्नब’को प्रभाव : म्याग्दीमा उच्च सतर्कता अपनाउन आग्रह
कात्तिक ११ गते । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले मौसम प्रतिकूल हुने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कार्यालयले बुधबार सूचना जारी गर्दै कात्तिक १२ गते रातिदेखि १४ गते बिहानसम्म चक्रवातको अवशेष नेपालतर्फ सर्ने क्रममा मौसम प्रभावित हुन सक्ने जनाएको छ। सम्भावित वर्षाका कारण जिल्लाका आसपासका क्षेत्रमा रहेका नदी तथा खोलामा जलसतह बढ्ने, आकस्मिक बाढी आउने तथा पहिरो खस्ने जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरिएको हो।
प्रशासनले धानबाली काट्ने, भित्र्याउनेलगायत कृषि कार्य कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र पदयात्रामा गइसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
त्यसैगरी, आकस्मिक बाढी आउन सक्ने नदी तथा खोलाको किनारमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने तथा दाउरा र बालुवा–गिट्टी निकाल्ने कार्य नगर्न आग्रह गरिएको छ। नदी तथा खोलामा बगाएर ल्याएका सामग्री झिक्न किनारमा नजान र परिवारका सदस्यलाई समेत त्यस्ता जोखिमयुक्त स्थानमा जान नदिन प्रशासनले अनुरोध गरेको छ।
बाढीका बेला नदी तथा खोलाको किनारमा गाईवस्तु चराउन, पानी खुवाउन वा नदी किनारमा रहेका खेलमैदानमा खेलकुद खेल्न नजान पनि सूचनामा उल्लेख छ। नदी तथा खोलाको किनार र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई पानीको बहाव निरन्तर नियाल्न र जलसतह बढेमा तत्काल सुरक्षित स्थानमा सर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।
अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न तथा बाहिर निस्कनुपर्ने अवस्थामा राजमार्ग र सडकको अवस्थाबारे पूर्वजानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
नेपाल मौसम विज्ञान विभागको पूर्वानुमान नियमित रूपमा हेर्न र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मौसम विज्ञान विभाग तथा जिल्ला प्रशासन कार्यालयबाट जारी हुने अद्यावधिक सूचना र पूर्वचेतावनी पालना गर्न पनि आग्रह गरिएको छ। मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् व्यवस्थापनसम्बन्धी सहयोगका लागि १२३४ तथा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


प्रतिक्रिया राख्नुहोस्