बाढीले मध्यकालीगण्डकीमा क्षतिपुगेपछि एक महिनादेखि निर्माण ठप्प
ठाकुरप्रसाद आचार्य
कात्तिक ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको बाँध,सुरुङ,आवास तथा निर्माण उपकरणमा कालीगण्डकी नदीको बाढीले क्षति पु¥याएपछि एक महिनादेखि निर्माण कार्य ठप्प भएको छ ।
कालीगण्डकी बाढीले निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्की र वर्कसप लगायतका संरचनामा क्षति पु¥याउदा करिब १८ देखि २० करोड रुपियाँ बराबरको नोक्सान पुगेको आयोजना प्रमुख अजित विक्रम कार्कीले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण गाउँपालिका–३ र ४ को सिमानामा पर्ने सुकेबगरमा निर्माणाधीन बाँधमा डाइभर्सन भत्काएर पसेको कालीगण्डकीको बाढीले गेग्रान थुपारेको छ । सो स्थानमा रहेको सुरुङको अडिट भित्र पनि बाढी पसेर क्षति पुगेको छ ।

बाढीले आयोजनाका महत्वपूर्ण संरचनामा क्षति पु¥याएपछि निर्माण कार्य पुनः सञ्चालन गर्न आवश्यक तयारी थालिएको आयोजना प्रमुख कार्कीको भनाई छ । उहाँका अनुसार अन्नपूर्ण–२ नागढुङ्गा र रातोपानीस्थित आवासका भवनहरु भत्काउनुका साथै त्यहाँ रहेका सामग्री बाढीले बगाएको छ । कालीगण्डकीको बाढीले आयोजनाको ‘लेबरक्याम्प’ पनि बगाएर लगेको छ ।
बाढीले बगाएको आवास र लेबरक्याम्प लगायतका संरचनाको पुर्निनिर्माण गरेपछि तिहार लगत्तै आयोजना निर्माणको काम अगाडी बढ्ने आयोजना प्रमुख कार्कीले बताउनुभयो । विसं २०८१ देखि निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति अहिलेसम्म विना रोकतोक अघि बढिरहेकामा हालैको बाढीले क्षति पुगेपछि निर्माण कार्य प्रभावित हुन पुगेको आयोजना प्रमुख कार्कीले बताउनुभयो ।
सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध बनाई चार हजार ३१९ मिटर लामो मुख्य सुरुङबाट ल्याउने पानी एक सय ५१ मिटर उचाइबाट अन्नपूर्ण २ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृह खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
विक्रम सम्वत् २०८५ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्यसहित थालिएको आयोजनाको बाढी पहिरोका कारण निर्माण अवधि लम्बिने देखिएको छ । म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । १२ अर्ब ९३ करोड रुपियाँ लागत अनुमान गरिएको यस आयोजनामा नविल बैंक लिमिटेडको नेतृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रवद्र्धक र शेयर लगानीकर्तामार्फत जुटाइने छ ।
प्रतिक्रिया राख्नुहोस्