पहिरोले क्षतिग्रस्त संरचना मर्मत गर्न पाउद्वारवासीको श्रमदान
ठाकुरप्रसाद आचार्य
म्याग्दी(बेनी) कात्तिक ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बाढीपहिरोले क्षति पु¥याएका सडक, पदमार्ग, खानेपानी र विद्युत् संरचना मर्मत तथा पुनःसञ्चालन गर्न स्थानीयवासी श्रमदानमा जुटेका छन् । गाउँ जोड्ने सडक अवरुद्ध हुनुका साथै बस्ती जोखिममा परेपछि १७० घरपरिवारका बासिन्दाले पूर्वाधार मर्मत र वैकल्पिक सडक निर्माणका लागि सामूहिक पहल थालेका हुन् ।
गत असोजको दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढीपहिरोले पाउद्धार वस्ती पहिरोको उच्च जोखिममा परेको छ । यहाँका अधिकांश घर,सडक,पदमार्ग,खानेपानी,विद्यालय लगायतका संरचनामा क्षति पुगेको छ । पहिरोले वस्ती नै घेरिएपछि स्थानीयहरुलाई सुरक्षित स्थलमा अस्थायी आश्रयस्थल निर्माण गरी राखिएको छ ।
विपद्ले क्षति पु¥याएका पूर्वाधारको मर्मत गरी जनजीवन सहज बनाउन स्थानीयवासी अहिले सामूहिक रूपमा जुटेका छन् । श्रमदानमार्फत क्षतिग्रस्त संरचनाको मर्मत तथा आवागमन सहज बनाउने प्रयास गरिएको स्थानीयवासी हरी तिलिजाले बताउनुभयो । बाढीपहिरोका कारण पाउद्धारको वस्ती चिराचिरा परेको छ । गाउँ नै पहिरोले घेरिएपछि यहाँका स्थानीयहरुलाई वडा नम्बर ५ को शिख र वडा नम्बर ६को घारमा अस्थायी शिविर निर्माण गरी राखिएको छ ।
स्थानीयहरुले गाउँलाई सडक सञ्जालसँग जोड्न मोटरबाटो निर्माणका लागि आर्थिक सहयोग जुटाउने अभियान सुरु गरेका छन् । पहिरोले खेतीयोग्य जमिनमा क्षति पु¥याउनुका साथै गाउँ जोड्ने सडकसमेत अवरुद्ध भएपछि स्थानीयवासीले जनजीवन सहज बनाउन वैकल्पिक सडक निर्माणका साथै सहयोगको पहल थालेका छन् ।

बाढीपहिरोले घारखोला–नेपाने–पाउद्धार तथा सिख–स्वाँत–धस्केखोरे–झारबाङ हुँदै पाउद्धार जोड्ने सडक क्षतिग्रस्त बनेका छ । गाउँबाट घार, सिख, खोप्राडाँडा र पोखरेबगर जाने पदमार्ग स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेश तिलीजाले बताउनुभयो ।
उहाँका अनुसार स्थानीयहरुको भेलाले मीनबहादुर तिलीजाको अध्यक्षतामा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । भेलाबाट समितिको सचिवमा हरिप्रसाद तिलीजा,कोषाध्यक्षमा भगवती पाइजा र सदस्यहरुमा डमबहादुर तिलीजा र टीकाबहादुर तिलीजा चयन हुनुभएको छ ।
समितिको नेतृत्वमा विपद् व्यवस्थापनको सम्पूर्ण कामहरु गरिने विपद् व्यवस्थापन समितिका अध्यक्ष तिलीजाले जानकारी दिनुभयो । समितिले बाढीपहिरोले क्षतिग्रस्त भएको सडक,पदमार्ग,खानेपानी लगायतका संरचना पुनर्निर्माण गर्न सहयोग रकम तथा श्रमदान जुटाउने उहाँले बताउनुभयो । पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्तीलाई जोड्ने ग्रामिण सडक क्षतिग्रस्त भएकाले प्राकृतिक नाकाबन्दीमा परेको वडाध्यक्ष तिलीजाले बताउनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समिति र गाउँपालिकाले अस्थायी शिविरमा बस्दै आएका पहिरो प्रभावित परिवारका लागि दैनिक उपभोग्य वस्तु, लत्ताकपडा लगायतका आवश्यक सामग्रीको व्यवस्था गरेका छन् । पहिरो प्रभावित स्थानीयवासीले भौगर्भिक अध्ययन गरी जोखिमको मूल्याङ्कन गर्न र बस्ती बसोबासका लागि सुरक्षित छ वा छैन भन्ने यकिन गरिदिन माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्