कालीगण्डकी बाढीले रातोपानी तातोपानी कुण्ड बगरमा परिणत
ठाकुरप्रसाद आचार्य
कात्तिक ६ गते । असोज दोस्रो साता आएको कालीगण्डकी बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीस्थित प्राकृतिक तातोपानी कुण्डको अस्तित्व नै मेटाइदिएको छ । कालीगण्डकी नदीको कटानले कुण्डका संरचना बगाएपछि कुनै समय पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्ड अहिले बगरमा परिणत भएको छ । कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब एक करोड रुपियाँको लगानी बाढीले बगाएर क्षति पु¥याएको छ ।
तातोपानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले विगत ९ वर्षदेखि यहाँ पूर्वाधार निर्माण गर्दै आएको थियो । तर, असोज ११ गते कालीगण्डकीमा आएको बाढीले कुण्डसहितका संरचना बगाएर बगरमा परिणत गरिदिएको छ ।
कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहानसमेत पुरानो कुण्डबाट करिब ३० मिटर तल सरेको छ । वर्षौँको प्रयास र लगानीमा निर्माण गरिएका संरचना बाढीले बगाएपछि तातोपानी कुण्डको पूर्वाधार पूर्ण रूपमा ध्वस्त भएको र अहिले सम्मको लगानी खेर गएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । पुनः यही स्थानमा तातोपानी कुण्ड पुनर्निमाण गर्न कठिन हुने गरी बाढीले बगाएका कारण तातोपानीको मुहानबाट पानी लगेर अन्यत्र स्थानमा स्नानस्थल निर्माण गर्ने विकल्पका बारेमा गाउँपालिकाले सोचिरहेको उहाँको भनाई छ ।
गाउँपालिकाका सब–इन्जिनियर बालकृष्ण पौडेलका अनुसार तत्कालीन गाविसदेखि हालको गाउँपालिकासम्मको अवधिमा विभिन्न समयमा गरी तातोपानी कुण्डमा करिब एक करोड रुपियाँ बराबरका पर्यटकीय पूर्वाधार निर्माण गरिएको थियो । उहाँका अनुसार कालीगण्डकीको कटानबाट जोगाउन किनारमा निर्माण गरिएको पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल र शौचालय लगायतका पूर्वाधार कालीगण्डकीको बाढीले बगाएको छ ।
उहाँले भन्नुभयो,‘‘अहिले सम्म निर्माण भएका पूर्वाधार कुनै पनि बाँकी छैनन् । कुण्डलाई बाढीले बगाएर अहिले बगरमा परिणत गरिदिएको छ । प्राविधिक हिसाबले हेर्दा पुनः यही स्थानमा पूर्वाधार निर्माण गर्न सम्भव देखिदैन । यहाँको पानी लगेर अन्य स्थानमा स्नानस्थल लगायतका पर्यटकीय पूर्वाधार बनाउन सकिन्छ ।”
गाउँपालिकाले पछिल्ला केही वर्ष यता प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै आन्तरिक आम्दानी समेत गर्दै आएको थियो । गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जनस्थलका रुपमा विकास भएको थियो । कालीगण्डकी नदी किनारमा रहेको तातोपानीको मुहानलाई संरक्षणका साथै व्यवस्थित बनाएपछि पर्यटकीय र प्राकृतिक उपचारस्थलका रुपमा विकास हुनथालेको थियो ।
बेनी–जोमसोम सडकको छेउमा रहेको यहाँ प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा संकलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०\१० मिटर लम्बाइ र चौडाइ भएको पोखरी बनाइएको थियो । तातोपानी कुण्ड व्यवस्थित भएसँगै मुस्ताङ भ्रमण गरेर फर्किएकाहरुले थकान मेटाउन कुण्डमा स्नान गर्ने गर्दथे । कुण्डमा पर्यटक आगमनसँगै रातोपानी, पोखरेबगर र ठूलोबगरको व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुगेको थियो ।
यहाँ चोटपटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित बिरामी तातोपानीमा डुबुल्की मारेर स्नान गर्न आउने गर्दथे । कुण्ड स्वास्थ्य पर्यटन र उपचारका लागि निकै चर्चित थियो । तातोपानी कुण्डलाई पालिकाले आय ठेक्कामा लगाएर वार्षिक रुपमा आम्दानी गर्दै आएको थियो । बाढीले बगरमा परिणत गरिदिएपछि पालिकाको आम्दानी समेत गुमेको छ ।

प्रतिक्रिया राख्नुहोस्