बेनीको पहिरोग्रस्त क्षेत्रमा भूगर्भविद्को टोलीद्वारा अध्ययन सुरु
असोज १७ गते । म्याग्दी सदरमुकाम बेनीस्थित न्युरोड क्षेत्रमा खसेको पहिरोको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका लागि भूगर्भविद्हरूको टोलीले वैज्ञानिक अध्ययन सुरु गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले शनिबारदेखि पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो।
टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पसचोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो।
पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमुना सङ्कलन गरी वैज्ञानिक अध्ययन अघि बढाइने भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालले बताउनुभयो।
बुधबार राति करिब साढे ११ बजे बेनी नगरपालिका–८ स्थित न्युरोड क्षेत्रमा पहिरो खसेको थियो। खोरिया पाखोबाट खसेको पहिरोले एक दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको नगर प्रमुख केसीले बताउनुभयो। अध्ययन टोलीले प्रारम्भिक प्रतिवेदन दिएपछि त्यसका आधारमा तत्कालीन योजना बनाएर काम थालिने उहाँले जानकारी दिनुभयो।
करिब ३०० मिटर उचाइ र ५०० मिटर चौडाइ रहेको खरबारी क्षेत्रको माथिल्लो भाग निकै तलसम्म धसिएको छ। भिरालो तथा कमजोर भूगोल र भूमिगत पानीका कारण सो क्षेत्रमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन।
लगातार पहिरो खसिरहेका कारण पाँच सयभन्दा बढी घरधुरी रहेको न्युरोड र गणेशटोल क्षेत्र उच्च जोखिममा परेको छ। ठुलो पहिरो खसेर बजारमा थप क्षति हुन सक्ने त्रासमा स्थानीय बासिन्दा छन्।
भूगर्भविद्को टोलीले स्थलगत अध्ययन तथा सङ्कलित नमुनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ। सोही प्रतिवेदन र सुझावका आधारमा बेनी नगरपालिका तथा सम्बन्धित निकायले पहिरो नियन्त्रण र बजारवासीको सुरक्षाका लागि दीर्घकालीन उपाय तय गर्ने जनाइएको छ।
प्रतिक्रिया राख्नुहोस्