रघुगंगाको दर्मीजामा बहुउद्दश्यीय सभाहल निर्माण
विकल्प न्यूज\बेनी
साउन १३ गते । जिल्लाको रघुगङ्गा गाउँपालिका वडा नम्बर ४ दग्नामको दर्मीजा गाउँमा सुविधासम्पन्न बहुउद्दश्यीय सभाहल निर्माण भएपछि स्थानीयहरुलाई सभा सम्मेलन लगायत सामाजिक कार्यक्रमहरु सञ्चालन गर्न सहज भएको छ ।
गण्डकी प्रदेश सरकार,गाउँपालिका र जलविद्युत् आयोजनाको सहयोग गरी ४५ लाख रुपियाँ लागतमा सभाहल निर्माण गरिएको हो । सभाहल निर्माण भएपछि गाउँमा आयोजना हुने विवाह,ब्रतबन्ध,तालिम,गोष्ठी लगायतका सामाजिक गतिविधिहरु सञ्चालन गर्न सहज भएको वडाध्यक्ष पबिन गर्बुजाले बताउनुभयो ।
सभाहल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजन गरेको १५ लाख रुपियाँ बजेटबाट सुरु गरेको सभाहल गाउँपालिका र जलविद्युत आयोजनाको सहयोगमा गएको आर्थिक वर्ष २०८२÷०८३ मा सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष बिप्रसाद पुनले जानकारी दिनुभयो ।
सभाहललाई पूर्णता दिन आर्थिक वर्ष २०८१\०८२ र २०८२\०८३ मा १०\१० लाख गरी २० लाख रुपियाँ र गाउँपालिका भित्र निर्माण भएको तुँदी हाइड्रोपावर लिमिटेडको सामाजिक उत्तरदायित्व अन्तर्गत प्राप्त भएको १० लाख रुपियाँ सहयोगबाट सभाहल निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष पुनले बताउनुभयो ।
उहाँका अनुसार सभाहलको क्षमता दुइसय जना सहभागी हुन मिल्ने छ । एकतल्ला भएको सभाहलको १८ मिटर लम्बाई र ९ मिटर चौढाइ रहेको छ । सभाहल भित्र लाइटहरु जडान,स्टेज निर्माण र कुर्ची तथा शोफा लगायत अन्य फर्निचरका सामग्रीहरुको व्यवस्थापन गरिएको उपभोक्ता समितिका अध्यक्ष पुनले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्