जनप्रतिनिधिको घरमै जुवा खेल्दै नेता र समाजका प्रतिष्ठित व्यक्ति
यहाँहरुलाई लाग्न सक्छ जनप्रतिनिधि जनताको सेवामा खटिएका छन् । हो अधिकांश जनप्रतिनिधिहरु रातदिन जनताको सेवामै खटिएका हुन्छन् । तर केही जनप्रतिनिधि यस्ता पनि छन् जो घरमा जुवातासको खाल सञ्चालन गर्दछन् । समाजको विकृति र विसंगतिका विरुद्ध जनचेतना फैलाउने जनप्रतिनिधि,नेता र समाजका अगुवाहरु नै जुवाको खालमा भेटिनु पक्कै पनि राम्रो होइन ।
जनप्रतिनिधि मात्र होइन समाजका टाठावाठा,पढे लेखेका र आफूलाई राजनीतिक दलको नेता ठान्नेहरु समेत जुवातासको खालमा भेटिदा कस्तो होला ? हो शनिबार बेनी नगरपालिका ८ गणेशटोल स्थित एक जनप्रतिनिधिको घरबाट राजनीतिक दलका नेता,पूर्व शिक्षक र केही समाजका प्रतिस्ष्ठित व्यक्ति सहित १७ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको भन्दा पत्याउन कठिन पर्दछ ।
बेनी नगरपालिका वडा नम्बर ८ का वडासदस्य तथा नेपाली काँग्रेसका जिल्ला सचिव समेत रहनुभएका हिराबहादुर पुनको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले १७ जनालाई नगदसहित पक्राउ ग¥यो ।
यसैगरी बेनी नगरपालिका १० वाखेतबाट ७ जना जुवाडेलाई नगद सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुवै स्थानबाट गरी करिब साढे तिन लाख रुपियाँ नगद ८ बुक तास तथा अन्य सामग्रीहरु समेत बरामद गरेको जनाएको छ । गणेश टोलबाट मात्र २ लाख ९१ हजार १५ रुपियाँ र ८ बुक तास बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सूचना अधिकारी सागर तिमिल्सिनाले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा बेनी नगरपालिका–८ का वडा सदस्य वर्ष ५२ का हिरा बहादुर पुन, बेनी नगरपालिका–३ भकिम्लीका वर्ष ४४ का पूर्णबहादुर पुन, बेनी नगरपालिका–७ बैंकरोडका वर्ष ५५ का शिवकुमार श्रेष्ठ, बेनी नगरपालिका–७ डल्लेपिपलका वर्ष ५० का हरिकृष्ण पाइजा, बेनी नगरपालिका–८ शिक्षामार्गका वर्ष ५४ का भरत केसी, धौलागिरि गाउँपालिका–४ मुदीका वर्ष ३३ का हिमाल पुन, धौलागिरि गाउँपालिका–३ मुनाका वर्ष ३७ का डिलबहादुर पुन, रघुगंगा गाउँपालिका–६ पाखापानीका वर्ष ४८ का भीम पुन रहेका छन् ।
यसैगरी रघुगंगा गाउँपालिका ६ पाखापानीका वर्ष ४० भाइबहादुर पुन, रघुगंगा गाउँपालिका–७ चिमखोला वर्ष ४० का यम पुन, पर्वतको जलजला गाउँपालिका–४ मल्लाजका वर्ष ४२ का शुक्र हमाल,सोही गाउँपालिका–४ मिलनचोक वर्ष ५७ का लक्ष्मण श्रेष्ठ, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ बैशरी वर्ष ५५ का मनबहादुर पुर्जा, पर्वत जलजला–१ वाँसखर्कका वर्ष ३५ का रुपेश पुन, पर्वत जलजला–३ का वर्ष ६६ ताराप्रसाद श्रेष्ठ, पर्वत बेनीका वर्ष ६५ नरेन्द्र थापा थापा तथा महोत्तरीको सोनमा गाउँपालिका–६ का वर्ष ४२ बजरङ्गी शाह रहेका छन् । पर्वत बेनीका थापा पूर्व शिक्षक तथा नेकपा एमाले पर्वतका जिल्ला कमिटी सदस्य समेत ह्ुनुहुन्छ ।
यसैगरी बेनी नगरपालिका–१० वाखेत स्थित एक स्थानमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको थियो । उक्त स्थानबाट ५२ हजार ८ सय १० नगद बरामद भएको प्रहरीले जनाएको छ । वाखेतबाट पक्राउ पर्नेहरुमा बेनी नगरपालिका–१० का बेगम पाइजा, धनबहादुर मगर, विरेन्द्र पुर्जा, इन्द्रबहादुर पाइजा, खड्गबहादुर पुर्जा, हिरा बहादुर थापा र बलबहादुर खड्का रहेका छन् ।
प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ । बेनीमा पछिल्लो समय जुवातास मौलाएपछि नियन्त्रणका लागि प्रहरीले कडाई गर्न थालेको छ ।
एआईबाट निर्मित तस्बिर
प्रतिक्रिया राख्नुहोस्