अन्नपूर्ण आरोहणको ७६ वर्षः ५७२ आरोही पुगे शिखरमा
ठाकुरप्रसाद आचार्य
बेनी,जेठ २० गते । जुन ३ अर्थात जेठ २० गते आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा पहिलो पटक मानवपाइला परेको ऐतिहासिक दिन हो । ७६ वर्ष अघि सन १९५० जुन ३ का दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । आठ हजार मिटर भन्दा अग्ला हिमाल मध्य सबै भन्दा पहिला मानव पाइला परेको हिमाल भएकाले अन्नपूर्णलाई जेठो हिमाल भनेर पनि चिनिन्छ ।
आठहजार मिटर भन्दा अग्ला हिमाल मध्य अन्नपूर्ण प्रथमको पहिलोपटक सफल आरोहण पश्चात नेपालमा हिमाल आरोहणको युग सुरु भएको थियो । अन्नपूर्णको सफल आरोहण सँगै संसारभर चर्चा भएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६ वर्ष पूरा भएको छ । हिमाल आरोहणको ७६ वर्ष पूरा भएको अवसरमा गाउँपालिकाले र वडा कार्यालयले बुधबार विविध कार्यक्रमहरुको आयोजना गरेर आरोहण दिवस मनायो ।

अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्षको अवधिमा स्वदेशी र विदेशी आरोही गरेर पाँचसय ७२ जना शिखरमा पुगेका छन् । पर्यटन विभागले गत जेठ १९ गते प्रकाशित गरेको पर्वतारोहण तथ्य र चित्र नामक पुस्तकका अनुसार ५ जुन २०२३ सम्म ४ सय ८८ जना,सन् २०२५ मा ४४ जना र चालु वसन्तकालिनयाममा ४० जना गरेर पाँचसय ७२ जनाले अन्नपूर्णको सफल आरोहण गरिसकेका छन् ।
केही वर्ष अघि सम्म सुनसान हुने गरेको अन्नपूर्णमा पछिल्लो पाँचवर्ष यता पर्वतारोहीहरुको सङ्ख्यामा वृद्धि हुनथालेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा स्थानीय पर्यटनकर्मी तेज गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘७६ वर्ष पहिला संसारभर चिनिएको अन्नपूर्णलाई हामीले नेपाली सामु चिनाउ झण्डै ७५ वर्ष लाग्यो । गत वर्ष देखि सरकारी निकायबाट औपचारिक रुपमा अन्नपूर्ण प्रथम हिमालको आरोहण दिवस हिमाल भएकै भूगोलमा मनाउन थालिएको छ ।’’
फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरे सँगै हिमाल आरोहणको युगको सुरुवात भएपनि लामो समयसम्म अन्नपूर्ण गुमनाम भएको पर्यटनकर्मी गुरुङले बताउनुभयो ।
म्याग्दीको दाना हुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरि साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरानमा पर्ने हुमखोला देखि भुस्केटमेला हुँदै आरोहीहरु अन्नपूर्ण प्र्रथम हिमाल पुगेका थिए । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । गत वर्ष गाउँपालिकाले आधार शिविरमा नै अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाएको थियो ।
पहिलो आरोहीहरुले प्रयोग गरेको पदमार्गलाई गाउँपालिकाले मौरिस हर्जोग पदमार्ग नामकरण गरेर पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न थालेपछि चार हजार एकसय ९० मिटरको उचाईमा रहेको अन्नपूर्ण आधार शिविर स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तब्यका रुपमा विकास हुनथालेको छ ।
गत वर्षको हीरक महोत्सवको असवरमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिकका साथै खुला सङ्ग्रहालय स्थापना गरिएको थियो ।
पर्यटकको सहजताका लागि पदमार्गको हुमखोला देखि आधार शिविर सम्मको विभिन्न स्थानहरुमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल,खाना र बस्ने सुविधा सहितका होटल संचालन ल्याइएको छ । सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा तीन वटा आश्रयस्थल निर्माण गरिएको छ । हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट,पञ्चकुुण्डमा खानेपानी र शौचालय लगायतका पूर्वाधारहरु निर्माण गरिएको छ ।
हुमखुला देखि सुरु हुने मौरिस हर्जोग पदमार्ग हुँदै चार हजार एकसय ९० मिटरको उचाईमा रहेको आधार शिविरको पदयात्राका लागि पछिल्ला दुई वर्ष यता आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । अन्नपूर्ण आधार शिविर र पदमार्गमा पर्यटकीय पूर्वाधारको निर्माण र प्रचारप्रसार गरेर गाउँपालिकाको मुख्य पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उद्देश्य रहेको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँदेखि पञ्चकुण्ड ताल हुँदै आधार शिविर सम्म २१ किलोमिटर दूरीको मौरिस हर्जोग पदमार्गको विकास गरिएको छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
अन्नपूर्ण प्रथम हिमाल सहित पञ्चकुण्ड ताल । तस्विर किरण कार्की



प्रतिक्रिया राख्नुहोस्