अन्नपूर्ण आरोहण दिवसमा पर्वतारोही र पर्यटनकर्मीलाई सम्मान
ठाकुरप्रसाद आचार्य
बेनी,जेठ २० गते । ७६ औं अन्नपूर्ण आरोहण दिवसका अवसरमा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने आरोही र अन्नपूर्णको पर्यटन प्रवद्र्धनमा योगदान दिने पर्यटनकर्मीहरुलाई सम्मान गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा आयोजित ७६ औं अन्नपूर्ण आरोहण दिवस मुल समारोह समितिद्धारा आयोजना गरिएको कार्यक्रममा तीनपटक सम्म अन्नपूर्ण प्रथमको सफल आरोहण गर्नुहुने संखुवासभा मकालु गाउँपालिका २ निवासी छाङ्वा शेर्पा र ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिका ९ की माया शेर्पालाई सम्मान गरिएको हो ।
यसैगरी अन्नपूर्णको पर्यटन प्रवद्र्धनमा योगदान दिने पर्यटनकर्मी र अभियान्ताहरु नारच्याङका तेजबहादुर गुरुङ,दानाका इन्द्रसिंह शेरचन,ाम्चेका चित्र तिलिजा पुन र संचारकर्मी सुरेन गुरुङलाई सम्मान गरिएको गरिको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडाध्यक्ष समेत रहनुभएका दिवस मुलसमारोह समितिका संयोजक लोकबहादुर फगामीले बताउनुभयो ।
यसैगरी म्याग्दीका क्रियाशिल पत्रकाहरुले अन्नपूर्णको प्रचारप्रसारमा योगदान गरेको भन्दै संस्थागत रुपमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई पनि सम्मान गरिएको छ ।
गाउँपालिका अध्यक्ष भारतकुमार पुन,प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले सम्मानित हुने आरोही र पर्यटनकर्मीहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो ।
७६ वर्ष अघि सन १९५० जुन ३ का दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । आठ हजार मिटर भन्दा अग्ला हिमाल मध्य सबै भन्दा पहिला मानव पाइला परेको हिमाल भएकाले अन्नपूर्णलाई जेठो हिमाल भनेर पनि चिनिन्छ ।
अन्नपूर्णको सफल आरोहण गरेको दिनको सम्झनामा बुधबार नारच्याङमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा दौडप्रतियोगिता,आरोही,पर्यटनकर्मी सम्मानका साथै बिबिध कार्यक्रमको आयोजना गरेर आरोहण दिवस मनाइदै छ ।
नारच्याङको हुमखोला देखि आधारशिविर सम्मको पदैलमार्गलाई मौरिस हर्जोग पदमार्ग नामाकरण गरी पूर्वाधार विकास गर्न थालिएको छ ।
पर्यटकको सहजताका लागि पदमार्गको हुमखोला देखि आधार शिविर सम्मको विभिन्न स्थानहरुमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल,खाना र बस्ने सुविधा सहितका होटल संचालन ल्याइएको छ । सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा तीन वटा आश्रयस्थल निर्माण गरिएको छ । हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट,पञ्चकुुण्डमा खानेपानी र शौचालय लगायतका पूर्वाधारहरु निर्माण गरिएको छ ।
हुमखुला देखि सुरु हुने मौरिस हर्जोग पदमार्ग हुँदै चार हजार एकसय ९० मिटरको उचाईमा रहेको आधार शिविरको पदयात्राका लागि पछिल्ला दुई वर्ष यता आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । अन्नपूर्ण आधार शिविर र पदमार्गमा पर्यटकीय पूर्वाधारको निर्माण र प्रचारप्रसार गरेर गाउँपालिकाको मुख्य पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उद्देश्य रहेको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँदेखि पञ्चकुण्ड ताल हुँदै आधार शिविर सम्म २१ किलोमिटर दूरीको मौरिस हर्जोग पदमार्गको विकास गरिएको छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।


प्रतिक्रिया राख्नुहोस्